काठमाडौं । दया फाउन्डेसनले ‘ए तपेस्ट्री अफ नेपाली कल्चर एण्ड हेरिटेज’ शीर्षकमा नेपाली मौलिक संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्गमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा संस्कृति, शिक्षा, पर्यटन, साहित्य, संगीत तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा परम्परागत धिमे बाजासहित अतिथिको स्वागत, कुमारी नृत्य, विभिन्न जातीय सांस्कृतिक पोशाक प्रदर्शन, स्वर्गीय दयाराम भक्त माथेमाका कवितामा आधारित सांगीतिक प्रस्तुति, पौभा तथा समकालीन छ्वाली कलाको परिचय प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा युवाहरूको सांस्कृतिक सहभागिता र नेवारी संस्कारसम्बन्धी मौलिक नेवारी भाषाको पुस्तक पनि विमोचन गरिएको थियो । यस अवसरमा नेपाली संस्कृति संरक्षणमा योगदान पुर्याएका कलाकार, सांस्कृतिक अभियन्ता तथा युवा प्रतिभाहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

दया फाउन्डेसनले कार्यक्रममार्फत नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि युवा सहभागिता, शिक्षा, अनुसन्धान र सामुदायिक सहकार्यलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, कलाकार, सहभागी, स्वयंसेवक, साझेदार संस्था, सञ्चारकर्मी तथा शुभेच्छुकहरूप्रति फाउन्डेसनले आभार व्यक्त गरेको छ ।









प्रतिक्रिया