काठमाडौं । तिब्बती आध्यात्मिक गुरु दलाई लामाको जन्मजयन्ती मनाउन काठमाडौं प्रशासनले अनुमति दिएको छ। यसका लागि आइतबार सार्वजनिक बिदाकै दिन जिल्ला सुरक्षा समितिको बैठक बसेर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो। स्वयम्भूस्थित नामग्याल विद्यालयमा सोमबार बिहान दलाई लामाको जन्मजयन्ती विशेष कार्यक्रमसहित मनाउने तयारी गरिएको छ।
कार्यक्रममा नेपालस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिहरू, राजदूत तथा चार्ज डे अफेयर्ससहित करिब ३० जना विदेशी पाहुनाको सहभागिता रहने तयारी गरिएको स्रोतले जनाएको छ।
कार्यक्रम सञ्चालनका विषयमा सुरुमा जिल्ला प्रशासन कार्यालयबाट छुट्टै अनुमति आवश्यक नरहेको जानकारी आयोजक पक्षलाई दिइएको थियो। तर, सुरक्षा निकायले औपचारिक स्वीकृतिबिनै कार्यक्रम गर्न नहुने अडान लिएपछि विषय जिल्ला सुरक्षा समितिसम्म पुगेको हो।
त्यसपछि सार्वजनिक बिदाको दिन नै जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बोलाइएको थियो। बैठकले आवश्यक सुरक्षा मूल्याङ्कनपछि कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको स्रोतको भनाइ छ।
सुरक्षा अधिकारीहरूका अनुसार दलाई लामाको जन्मजयन्ती कार्यक्रमका लागि जिल्ला सुरक्षा समितिले औपचारिक निर्णय गरेर अनुमति दिएको यो पहिलोपटक हुन सक्ने बताइएको छ। कार्यक्रमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था पनि मिलाइएको जनाइएको छ।







प्रतिक्रिया