२२ असार २०८३, सोमबार

‘नेपाली ब्रो’ ले यसकारण लिए श्रीमतीको ज्यान, प्रहरी सामु खोले नालीबेली

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा मगरले श्रीमती ईश्वरी भुजेलको हत्या वैवाहिक विवाद र अर्की महिलासँगको सम्बन्धका कारण गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा कुमारसहित चार जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अदालतमा मुद्दा दायर गरिएको छ।

प्रहरीका अनुसार कुमार र ईश्वरीबीच लामो समयदेखि सम्बन्ध बिग्रिएको थियो। ईश्वरीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् भने कुमार त्यसमा सहमत थिएनन्। अदालतले मेलमिलापको प्रयास गर्न निर्देशन दिए पनि दुवैबीचको विवाद समाधान हुन सकेको थिएन।

अनुसन्धानका क्रममा कुमारको प्रतीक्षा आचार्यसँग प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले जनाएको छ। यही सम्बन्धका कारण दम्पतीबीच पटक–पटक झगडा हुने, प्रहरीमा उजुरी पर्ने र मिलापत्र गराइए पनि कुमारले सम्बन्ध नटुटाएको अनुसन्धानबाट देखिएको छ। प्रहरीको निष्कर्षअनुसार ईश्वरीले सम्बन्धविच्छेदमा अडान नछोडेपछि र वैवाहिक सम्बन्ध अन्त्य गर्न नमानेको भन्दै कुमारले हत्या गर्ने योजना बनाएका थिए।

प्रहरीसमक्ष दिएको बयानमा पनि कुमारले घटनाको दिन श्रीमती घर फर्कने बाटो कुरेर बसेको र मौका पाउनासाथ धारिलो हतियार प्रहार गरेको स्वीकार गरेको अनुसन्धानमा उल्लेख छ।

घटनामा कुमारका भाइ विक्रम थापा मगर, प्रतीक्षा आचार्य र पुजन थापा क्षेत्रीमाथि पनि मुख्य अभियुक्तलाई उक्साउने तथा सहयोग गरेको आरोप लगाइएको छ। प्रहरीले विक्रमले हत्या गर्न प्रेरित गरेको, प्रतीक्षासँगको सम्बन्धले पारिवारिक विवाद चर्काएको तथा पुजनले दुवैको भेटघाट गराउँदै योजना बनाउन सहयोग गरेको दाबी गरेको छ।

मुख्य अभियुक्त कुमारविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ भने अन्य तीन जनामाथि दुरुत्साहनको कसुरमा कानुनबमोजिम सजाय माग गरिएको छ।