सर्लाही । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बालबालिकालाई बरको रुखको फेदमा डोरीले बाँधेर निर्घात कुटपिट गरिएको थियो । घटनापछि प्रहरीको अनुसन्धानका क्रममा ६२ वर्षीया मिनारजन मगर, ३२ वर्षीया पवीकुमारी आलेमगर, ३० वर्षीया रानीमाया मोक्तान र ४२ वर्षीया निर्मला वाइबालाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त घटना मङ्गलबार भएको हो । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै चारै जनालाई पक्राउ गरेको उनले बताए ।
प्रहरीले पक्राउ परेका महिलाविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । घटनाका सबै पक्षबारे प्रमाण संकलन भइरहेको र अनुसन्धानको निष्कर्षका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।








प्रतिक्रिया