काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शान्ति बाटिकामा रहेको संरचना हटाउन निर्देशन दिएकी छन् ।
महानगरपालिकाको ५३ औं नगर कार्यपालिका बैठकमा डंगोलले नगरप्रहरीलाई उक्त निर्देशन दिएकी हुन् । शान्ति बाटिकामा रहेको संरचना हटाउन कुनै कानूनी समस्या नरहेको उनको भनाई छ ।
शान्ति बाटिकमा गणेशमान सिंहको शालिक, नेपाल प्रहरीको कार्यालय लगायतका संरचनाहरु हटाएर वडाअध्यक्ष र महानगरमा जानकारी दिन निर्देशन दिइन् । उनले महानगरभित्रका कर्मचारी सम्मान कार्यक्रमलाई पनि तत्काल अघि बढाउन निर्देशन दिएकी छन् ।
डंगोलले फोहोर व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको पनि जानकारी दिइन् । उनले कोर एरिया र कोर क्षेत्रबाहिरको फोहोर व्यवस्थापनको अवस्था तथा विगतको प्रक्रियाको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउने बताइन् । उनले जनप्रतिनिधिको सुविधासम्बन्धी विषयमा नगर सभाले निर्णय गरिसकेको र प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानूनी प्रक्रिया पूरा गरिएको जानकारी दिइन् ।
डंगोलले भनिन्, ‘कर्मचारीको सम्मानको विषय जे जे कारणले रोकिएको भए पनि अब यो कर्मचारीको सम्मानको कार्यक्रमलाई अगाडि बढाउनु होला । कार्यकारी प्रमुख प्रशासकीय अधिकृतज्युलाई मैले निर्देशन दिएँ । शान्ति बाटिकाको विषय आएको छ, त्यो स्ट्रक्चर यथासम्भव आजै हटाए पनि हुन्छ । त्यहाँ कानूनी रुपमा कुनैपनि व्यवधान छैन । त्यो कामलाई आजै कार्यान्वयन गरेर तस्वीरसहित हामीलाई अपडेट गराउनुहोला, वडा अध्यक्षज्यूलाई पनि गराउनु होला ।’








प्रतिक्रिया