–अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकास्थित ज्योति जनता बहुमुखी क्याम्पसमा विद्यार्थी तथा शिक्षक–कर्मचारीलाई लक्षित गर्दै आधुनिक चमेनागृह (क्यान्टिन) निर्माणको काम सुरु भएको छ । लामो समयदेखि आवश्यक महसुस गरिएको क्यान्टिन निर्माण लायन्स क्लब अफ उदयपुर चौदण्डीगढीको पहल तथा चौदण्डीगढी नगरपालिकासँगको संयुक्त लागत सहभागितामा काम अघि बढाइएको हो ।
भवन निर्माणका लागि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ र चौदण्डीगढी नगरपालिकाबीच सम्पन्न भएको लागत साझेदारी तथा ठेक्का सम्झौतापछि शनिबार एक विशेष समारोहका बीच चमेनागृहको शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रम चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख कालुमान लामाको प्रमुख आतिथ्य, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफका गभर्नर केशरबहादुर भण्डारीको विशिष्ट आतिथ्य तथा लायन्स क्लब अफ उदयपुर चौदण्डीगढीका अध्यक्ष खगेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कुल १ करोड ४१ लाख ४२ हजार १४१ रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजनामा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ क्लबले १ करोड ६ लाख ६ हजार ६०६ रुपैयाँ तथा चौदण्डीगढी नगरपालिकाले ३५ लाख ३५ हजार ५२५ रुपैयाँ बराबरको लागत साझेदारीमा भवन निर्माण प्रक्रिया सुरु गरिएको थियो । यद्यपि प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत एस एण्ड पी इन्नोभेसन कन्ट्रक्सन प्रालि, भक्तपुरले भ्याटसहित ८२ लाख ९६ हजार ९३८ रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ ।
निर्माण सम्पन्न भएपछि क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीले स्वच्छ, सुरक्षित र व्यवस्थित खाद्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ । यसले क्याम्पसको भौतिक पूर्वाधारलाई थप व्यवस्थित बनाउनुका साथै शैक्षिक वातावरणलाई समेत सकारात्मक रूपमा टेवा पुग्ने अपेक्षा गरिएको क्याम्पस प्रमुख मनोज झाले बताए ।
शिलान्यास कार्यक्रममा नगर उपप्रमुख मणिकादेवी दुलाल, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एफका फस्र्ट भाइस डिस्ट्रिक्ट गभर्नर (इलेक्ट) मनोजकुमार सापकोटा, डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी इन्द्रबहादुर कार्की, डिस्ट्रिक्ट मार्केटिङ कोअर्डिनेटर अर्जुन कार्की, विभिन्न वडाका अध्यक्ष, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय सुरक्षा निकायका प्रमुख, लायन्सका पदाधिकारी, शिक्षाविद् तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स क्लबका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यो परियोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, यो परियोजना समय मै सम्पन्न भएसँगै चौदण्डीगढी नगरपालिकासँगको सहकार्यमा स्वास्थ्य क्षेत्रको विकाससँग सम्बन्धित अर्को महत्वपूर्ण परियोजना समेत अघि बढाउने इच्छा रहेको बताए ।
कार्यक्रमका नगरप्रमुख लामाले नगरको शैक्षिक विकासमा लायन्स क्लबले देखाएको सक्रियता र सहयोगप्रति आभार व्यक्त गर्दै सार्वजनिक हितका यस्ता सहकार्यले स्थानीय विकासलाई थप प्रभावकारी बनाउने बताए ।
नगरपालिकाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न संघसंस्थासँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
लायन्स क्लब अफ उदयपुर चौदण्डीगढीको पहलमा सुरु भएको यो परियोजनालाई नगरमा सार्वजनिक–सामाजिक साझेदारीको उत्कृष्ट नमुनाका रूपमा हेरिएको छ । निर्माण सम्पन्न भएपछि ज्योति जनता बहुमुखी क्याम्पसमा आधुनिक र सुविधासम्पन्न चमेनागृह सञ्चालनमा आउनेछ, जसबाट क्याम्पसका विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया