३० असार २०८३, मंगलबार

पाँच वर्ष नाघेका मुद्दा शून्यमा झार्ने लक्ष्य जेनजी आन्दोलनले अवरोध गर्‍यो : न्यायाधीश पौडेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताएका छन् ।

गत वर्ष आठ वर्ष पुराना मुद्दाहरू फर्स्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । तर गत वर्षको भदौ २३ र २४ गतेका घटना र त्यसपछिको असहज परिस्थितिका कारण उक्त लक्ष्य प्राप्तिमा अवरोध पुगेको न्यायाधीश पौडेलले बताए । उनले प्रतिकूल परिस्थितिका बाबजुद आगामी दिनमा कार्यसम्पादन बढाएर यसलाई व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

न्यायपालिकाको स्वतन्त्रताको विषयमा बोल्दै न्यायाधीश पौडेलले न्यायालय सधैँ स्वतन्त्र न्यायपालिकाको हिमायती रहेको र रहने स्पष्ट पारे । उनले सञ्चारमाध्यमलाई न्यायपालिकाको आवाज जनमानसमा पुर्‍याउने सहयात्री र परिपूरकका रूपमा चित्रण गरे ।

पछिल्लो समय चर्चामा रहेको ‘मिडिया ट्रायल’ र समाचार संप्रेषणको सीमाका सम्बन्धमा उनले सर्वोच्च अदालतबाट भएका विभिन्न फैसलाहरूले यसको परिधि स्पष्ट पारिसकेको बताए ।

अदालतले न्याय सम्पादनलाई शीघ्र र प्रभावकारी बनाउन आफ्नोतर्फबाट प्रयास जारी राखेको बताउँदै उनले वस्तुगत परिस्थितिलाई बुझिदिन आम जनसमुदाय र सञ्चारकर्मीहरूसमक्ष आग्रह समेत गरे ।