काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनले टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ मा पशु चिकित्सक (भेटेरिनरी) पेशालाई होच्याउने आशयको संवाद प्रयोग गरिएको भन्दै कार्यक्रम निर्माण टोलीसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ।
एशोसिएशनले कार्यक्रमका सञ्चालक तथा निर्देशक विशाल भण्डारीलाई पत्र पठाउँदै कलाकार भरतमणि पौडेलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको क्यारिकेचर गर्ने क्रममा बोलेको संवादले सम्पूर्ण भेटेरिनरी पेशाकर्मीको आत्मसम्मानमा चोट पुगेको जनाएको हो।
एशोसिएशनका अध्यक्ष डा. केदार सुवेदीद्वारा हस्ताक्षरित पत्रमा हास्यव्यङ्ग्यका नाममा वैज्ञानिक तथा समाजका लागि महत्त्वपूर्ण पशु चिकित्सा पेशालाई अपमानित गर्ने अभिव्यक्ति स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ। यस्तो प्रस्तुतिले पेशाप्रति नकारात्मक सन्देश प्रवाह गरेको भन्दै भविष्यमा यस्ता विषयमा संवेदनशील बन्न पनि आग्रह गरिएको छ।
एशोसिएशनले विवादित अंशबारे सार्वजनिक रूपमा माफी माग्न अनुरोध गर्दै बेवास्ता गरिए कानुनी प्रक्रिया अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएको छ।
यता, कार्यक्रमका सञ्चालक विशाल भण्डारीले भने प्राप्त पत्रबारे आफ्नो कानुनी टोलीसँग परामर्श गरेर आवश्यक प्रतिक्रिया दिने बताएका छन्।









प्रतिक्रिया