-कृष्ण पौडेल
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले विगत आठ वर्षदेखि निरन्तर रूपमा सञ्चालन गर्दै आएको सरसफाइ अभियानले गाउँपालिकाको स्वरूप नै परिवर्तन गर्न सफल भएको छ।
जनचेतनामूलक कार्यक्रम, फोहोर दौड प्रतियोगिता, घरदैलो अभियान, विद्यालय केन्द्रित गतिविधि तथा समुदायको सक्रिय सहभागिताले सरसफाइप्रतिको सोच र व्यवहारमा उल्लेखनीय सुधार ल्याएको हो । आठ वर्षअघि गाउँका सडक, सार्वजनिक स्थल, चोक तथा बजार क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति सामान्य थियो। धेरै स्थानमा फोहोर व्यवस्थापनको अभाव देखिन्थ्यो भने केही परिवार अझै पनि खुला स्थानमा शौच गर्न बाध्य थिए। सरसफाइलाई व्यक्तिगत जिम्मेवारीभन्दा पनि अरू कसैको काम ठान्ने प्रवृत्ति व्यापक थियो।
यही अवस्थालाई परिवर्तन गर्ने उद्देश्यले गाउँपालिकाले सामुदायिक विद्यालय, महिला समूह, युवा क्लब तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सरसफाइ अभियानको सुरुवात गरेको थियो। नियमित सचेतनामूलक कार्यक्रम, सरसफाइ अभियान, फोहोर दौड प्रतियोगिता तथा घरदैलो कार्यक्रममार्फत नागरिकलाई सरसफाइको महत्वबारे जानकारी दिइयो। अभियान विस्तारै जनआन्दोलनको रूपमा विकसित हुँदै गएको स्थानीयवासी बताउँछन्।
हाल गाउँका सडक, टोल तथा सार्वजनिक स्थलहरू पहिलेको तुलनामा निकै सफा, सुन्दर र व्यवस्थित देखिन थालेका छन्। सरसफाइप्रति नागरिकको चेतना बढेको छ भने घरघरमा फोहोर व्यवस्थापन र वातावरण संरक्षणसम्बन्धी सकारात्मक अभ्यास सुरु भएका छन्। खुला दिसामुक्त व्यवहारलाई संस्थागत गर्दै अधिकांश परिवारले घरमै शौचालय निर्माण गरी नियमित प्रयोग गर्न थालेका छन्।
गाउँपालिकाका वास संयोजक अर्जुन बेल्बासेका अनुसार अभियानको सुरुवाती चरण चुनौतीपूर्ण भए पनि निरन्तर प्रयासका कारण उल्लेखनीय सफलता हासिल भएको छ।
उनले भने, जब हामीले सरसफाइ अभियान सुरु गरेका थियौँ, त्यसबेला धेरै ठाउँमा फोहोर जथाभावी फालिने, सार्वजनिक स्थलहरू अस्तव्यस्त रहने र सरसफाइप्रति नागरिकको चासो कम थियो। तर निरन्तर जनचेतना, समुदायको सहभागिता, विद्यालय तथा विभिन्न समूहको सहकार्य र फोहोर दौडजस्ता सिर्जनात्मक कार्यक्रमका कारण आज अवस्था धेरै बदलिएको छ। अहिले गाउँका सडक र बस्तीहरू सफा देखिन्छन्, अधिकांश घरमा शौचालय प्रयोग भइरहेको छ र सरसफाइ नागरिकको दैनिकी बन्दै गएको छ।
उनले सरसफाइ अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा फोहोरको स्रोतमै व्यवस्थापन, पुनःप्रयोग तथा वातावरण संरक्षणसँग सम्बन्धित कार्यक्रमलाई थप विस्तार गरिने जानकारी दिए ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सरसफाइ अभियानले गाउँपालिकाको समग्र विकास र पहिचानलाई नयाँ उचाइमा पुर्याएको बताए। उनले भने, ‘स्वच्छ वातावरण नागरिकको आधारभूत अधिकार हो। आठ वर्षअघि सुरु गरिएको सरसफाइ अभियानले आज विजयनगरलाई सफा, सुन्दर र व्यवस्थित गाउँपालिकाका रूपमा चिनाउन मद्दत गरेको छ। यस सफलतामा सम्पूर्ण नागरिक, महिला समूह, युवा क्लब, विद्यालय, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको महत्वपूर्ण योगदान रहेको छ। सरसफाइलाई अब अभियानका रूपमा मात्र नभई नागरिक संस्कारका रूपमा स्थापित गर्न आवश्यक छ,’ ।
आगामी दिनमा फोहोरको वैज्ञानिक व्यवस्थापन, स्रोतमै फोहोर वर्गीकरण, पुनःप्रयोग तथा हरित वातावरण प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने अध्यक्ष थापाको भनाइ छ ।
उनले स्वच्छ, स्वस्थ र हरित विजयनगर निर्माणका लागि सबै नागरिकको निरन्तर सहयोग र सहभागिता आवश्यक रहेको उल्लेख गरे । स्थानीय तह, समुदाय तथा सरोकारवालाको संयुक्त प्रयासले विजयनगरमा सरसफाइ अभियान सफल बन्दै गएको देखिन्छ।
सरसफाइलाई अभियानमा मात्र सीमित नराखी नागरिक संस्कारका रूपमा विकास गर्दै स्वच्छ, स्वस्थ र हरित विजयनगर निर्माण गर्ने लक्ष्यका साथ गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।








प्रतिक्रिया