काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टी भट्टराईको पुरानो भिडियो सामाजिक सञ्जालमा पुनः भाइरल भएपछि सडक सुरक्षालाई लिएर चर्चा सुरु भएको छ।
भाइरल भिडियोमा भट्टराई गुडिरहेको कारको अगाडिको सिटमा बसेर झ्यालबाट शरीरको ठूलो भाग बाहिर निकाल्दै यात्रा गरिरहेको देखिन्छ। भिडियोमा उनले बबल फुकिरहेको दृश्य पनि देख्न सकिन्छ। सार्वजनिक सडकमा चलिरहेको सवारीसाधनबाट यसरी शरीर बाहिर निकाल्नु जोखिमपूर्ण हुने भन्दै सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले आलोचना गरेका छन्।
केहीले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सडक सुरक्षासम्बन्धी नियमप्रति अझ बढी जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्। यससँगै उक्त घटनामा कानुनी रूपमा कुनै कारबाही हुनुपर्ने वा नपर्ने विषयमा पनि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्।
यसअघि पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल चलाउँदा एक हातले ह्यान्डल समातेर भिडियो खिचेको विषय विवादमा परेको थियो। त्यस घटनामा ट्राफिक प्रहरीले कारबाही गरेको थियो। सोही सन्दर्भ जोड्दै कतिपयले भट्टराईको भिडियोबारे पनि प्रश्न उठाइरहेका छन्।
यद्यपि, अहिले भाइरल भइरहेको भिडियो भने उनी सांसद निर्वाचित हुनुअघिको रहेको खुलेको छ। उक्त भिडियो उनले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकै दिन अर्थात् फागुन २१ गते आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। त्यसबेला उनी रास्वपाको समानुपातिक बन्दसूचीमा रहे पनि सांसद बन्ने अन्तिम टुंगो लागिसकेको थिएन। हालसम्म पनि सो भिडियो उनको इन्स्टाग्राम खातामा उपलब्ध छ।
भट्टराई संसद्मा अपेक्षाकृत कम बोल्ने सांसदका रूपमा चिनिए पनि उनी विभिन्न कारणले समय–समयमा चर्चामा आउने गरेकी छन्। केही समयअघि उनले आफ्नो रूप–रंगलाई लिएर हुने टिप्पणीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी थिइन्।
सांसद बन्नुअघि भट्टराई सुनसरी जिल्ला अदालतमा बाल विशेषज्ञका रूपमा कार्यरत थिइन्। साथै, उनी कोशी प्रदेशमा करिअर काउन्सिलिङ क्षेत्रमा पनि सक्रिय रहेकी थिइन्।








प्रतिक्रिया