३० जेष्ठ २०८३, शनिबार

दोलखाको पिपलबोटमा दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई गम्भीर घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पिपलबोट नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव हाल पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा राखिएको छ ।

दुर्घटनामा वैतेश्वर गाउँपालिका–२ पुतलीकाठका २६ वर्षीय उमेश तामाङ र भीमेश्वर नगरपालिका–६ चोथाङका १९ वर्षीय विवेक थामी गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चरिकोटबाट जिरीतर्फ जाँदै गरेको बा.प्र ०२–०६२ प ८४८६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट चरिकोटतर्फ आउँदै गरेको बा.८० प ७९७३ नम्बरको मोटरसाइकल भीमेश्वर नगरपालिका–५ को पिपलबोट क्षेत्रमा एकापसमा ठोक्किएका थिए ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।