काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काभ्रेपलाञ्चोक र धनकुटामा भएका छुट्टाछुट्टै बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
काभ्रेपलाञ्चोकको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस नमोबुद्ध क्षेत्रमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् ।
त्यस्तै, संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटाको च्याङच्याङबारीमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनापछि जारी गरिएको विज्ञप्तिमार्फत सभापति थापाले ज्यान गुमाएका यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेका छन् । साथै, शोकसन्तप्त परिवारजनप्रति पार्टी र व्यक्तिगत रूपमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
थापाले दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक पहल गर्न समेत अनुरोध गरेका छन् ।
पछिल्लो समय देशका विभिन्न क्षेत्रमा सडक दुर्घटनाका घटना बढ्दै गएको उल्लेख गर्दै थापाले यस्ता घटनाको कारणबारे गहिरो अध्ययन गर्न तत्काल कार्यदल गठन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । अध्ययनका आधारमा दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।









प्रतिक्रिया