९ असार २०८३, मंगलबार

सिंहदरबारको क्यान्टिनमा अखाद्य वस्तु भेटिएपछि दुई लाखभन्दा बढी जरिबाना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिंहदरबार परिसरमा सञ्चालित सेन्ट्रल क्यान्टिनमा उपभोगका लागि अयोग्य खाद्य सामग्री फेला परेपछि सम्बन्धित सञ्चालकलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको निरीक्षणका क्रममा क्यान्टिनमा घुन लागेको चनादाल, ओसिएको बदाम तथा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका अण्डाहरू भण्डारण गरिएको भेटिएको थियो।

अनुगमन टोलीले करिब ६ हजार ५ सय रुपैयाँ बराबरका ती सामग्री जफत गरी नष्ट गरेको जनाएको छ। उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने खालका खाद्यवस्तु प्रयोग तथा भण्डारण गरेको निष्कर्षसहित उपभोक्ता संरक्षण ऐनअनुसार आर्थिक दण्ड गरिएको हो।

त्यसैदिन भक्तपुरस्थित एक खानेपानी उद्योगलाई आवश्यक कागजात र खरिद विवरण व्यवस्थित नराखेको पाइएपछि १० हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा काठमाडौं उपत्यकाका अन्य केही व्यवसायिक प्रतिष्ठानमा समेत सामान्य कमजोरी देखिएकाले आवश्यक सुधार गर्न निर्देशन दिइएको विभागको भनाइ छ।