काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने पक्का भएको छ । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चार दिने भ्रमणका लागि यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएका हुन् ।
जुन १४ देखि १७ सम्म बेइजिङमा रहँदा मन्त्री खनालले आफ्ना चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नेछन्। ‘नेपाल र चीन सम्बन्ध थप सुदृढ बनाउनुका साथै पारस्परिक सहयोग अघि बढाउने सम्बन्धी पारस्परिक हितका विषयमा छलफल गर्नुहुनेछ’, परराष्ट्र मन्त्रालयले भनेको छ।
उनले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरुसँग पनि भेटवार्ता गर्नेछन्। चीन सरकारका उच्च पदस्थ अधिकारीहरुसँग पनि भेट्ने तालिका रहेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बेइजिङमा उनी नेपाली दूतावासले आयोजना गर्ने वैदेशिक लगानी प्रवद्र्धनसम्बन्धी सम्मेलनमा पनि सहभागी हुनेछन्।
चिनियाँ व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको परराष्ट्रले जनाएको छ। नेपाली दूतावसले उनलाई सम्मान समेत गर्नेछ। जुन १७ मा उनी स्वदेश फर्किनेछन्।








प्रतिक्रिया