–कृष्ण पौडेल
कपिलवस्तु । चोरखोला गाउँमा बिहानको सुरुवात अब पहिले जस्तो छैन । वर्षौँदेखि गाग्री बोकेर टाढाटाढा पानीको जोहो गर्नुपर्ने बाध्यता अन्त्य भएपछि यहाँका बासिन्दाको दैनिकी सहज मात्र होइन, सुरक्षित र सम्मानजनक बनेको छ।
करिब २२–२३ घरधुरी रहेको यो गाउँमा खानेपानीको समस्या लामो समयदेखि प्रमुख चुनौतीका रूपमा रहँदै आएको थियो ।
स्थानीय स्रोतको अभावका कारण बासिन्दा टाढाटाढाबाट पानी बोकेर ल्याउन बाध्य थिए । यसले बिहानको महत्त्वपूर्ण समय मात्र होइन, घरायसी काम, कृषि गतिविधि र बालबालिकाको अध्ययन समेत प्रभावित गर्दै आएको थियो ।
विशेषगरी महिला र बालबालिकाले सबैभन्दा बढी शारीरिक तथा मानसिक बोझ झेल्दै आएका थिए। तर अहिले अवस्था पूर्ण रूपमा परिवर्तन भएको छ ।
शिवराज नगरपालिकाको पहलमा सञ्चालन गरिएको खानेपानी आयोजनामार्फत गाउँका सबै घरधुरीमा शुद्ध पिउने पानीको पहुँच सुनिश्चित गरिएको छ । घरघरमै धारा जडान भएपछि घण्टौं समय खर्चेर पानी बोक्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीयहरू बताउँछन् ।
नगरप्रमुख अजय थापाका अनुसार यो आयोजनाले गाउँको जीवनस्तरमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारेको छ । विकासलाई केवल भौतिक संरचनासँग मात्र नभई नागरिकको दैनिक जीवनसँग जोडेर हेर्नुपर्ने उनले बताए ।
उनले भने, ‘खानेपानीजस्तो आधारभूत सुविधा नागरिकको पहिलो अधिकार हो । चोरखोलाका नागरिकलाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउन पाउनु हाम्रो लागि सन्तोषको विषय हो ।’
स्थानीय यमलाल मगरका अनुसार पहिले पानी ल्याउन धेरै समय खर्चिनु पर्थ्यो, तर अहिले घरमै धारा भएपछि ठूलो सहजता भएको छ । उनका अनुसार यसले विशेषगरी महिला र बालबालिकाको समय र श्रम बचत भएको छ । पानीकै लागि लामो दूरी हिँड्नुपर्ने बाध्यता हटेपछि उनीहरूको दैनिक जीवन अझ सहज, व्यवस्थित र उत्पादक बनेको छ ।








प्रतिक्रिया