५ असार २०८३, शुक्रबार

परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य, प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत : नेकपा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेशकुमार हमालले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति राष्ट्रहित र नेपालको भू–अखण्डताविरुद्ध रहेको आरोप लगाउँदै परराष्ट्रमन्त्रीको स्पष्टीकरण आफ्नो दललाई स्वीकार्य नभएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाभिमान, भू–अखण्डता र सीमाका विषयमा संसदभित्र विभाजित भएर छलफल गर्नुपरेको अवस्थाप्रति दुःख व्यक्त गरे ।

उनले भने, ‘आज हामी राष्ट्रिय स्वाभिमान, हाम्रो भू–अखण्डता र सिमानाको सन्दर्भमा यहाँ छलफल गर्न बाध्य भएका छौँ । यो विभाजित भएर छलफल गर्ने विषय होइन । छातीमा नेपालको नक्साको लोगो लगाएर संसदभित्र उपस्थित भएका हामी राष्ट्रियताको सम्बन्धमा प्रश्न गर्नुपर्दा भावुक भएका छौँ ।’

सांसद हमालले नेपाल र नेपालीहरू राष्ट्रियता, सीमा र स्वाभिमानका विषयमा कहिल्यै विभाजित नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले गत जेठ १७ गते संसदको रोष्ट्रमबाट दिएको अभिव्यक्तिमाथि आपत्ति जनाए ।

उनले भने, ‘गएको १७ गते यही रोष्ट्रमबाट मेरो प्रधानमन्त्रीले राष्ट्रविरोधी तथा नेपालको भू–अखण्डताविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिनुभयो । ‘नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको रहेछ’ भन्ने कुरा एउटा प्रधानमन्त्रीले भन्न सक्छ ? कुनै पनि नेपालीले यस्तो भनेको छैन ।’

हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भू–भाग भएको दोहोर्‍याउँदै अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने बताए ।

उनले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भू–भाग हो । हामी यो अतिक्रमित भूमि फिर्ता चाहन्छौँ । हामीले भनेको त कूटनीतिक प्रयास गर्नुस् न प्रधानमन्त्रीज्यू । सीमारेखामा कैयौं संरचनाहरू निर्माण भइरहेका छन्, घरजग्गाहरू कायम रहेका छन् । तथ्य र तथ्यांक धेरै छन्, यथार्थहरू धेरै छन् ।’

प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘क्रस बोर्डर होल्ड’सम्बन्धी विषयसँग जोडेर दिइएको स्पष्टीकरणप्रति पनि उनले असन्तुष्टि जनाए ।

उनले प्रश्न गर्दै भने, ‘नेपालले भारतको सीमा धेरै ठाउँमा मिचेको छ भन्ने विषय क्रस बोर्डर होल्डको विषयसँग मिल्छ ? त्यस्तो स्पष्टीकरणले के हामीले हाम्रो आत्मसम्मान र राष्ट्रिय गौरव बचाउन सक्छौँ ?’

सांसद हमालले परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण प्रधानमन्त्रीको अभिव्यक्तिलाई ढाकछोप गर्ने प्रयास मात्र भएको दाबी गर्दै आफ्नो दलका तर्फबाट उक्त स्पष्टीकरण अस्वीकार गरिएको जानकारी गराए ।

‘म परराष्ट्रमन्त्रीज्यूको ढाकछोप गर्ने स्पष्टीकरण छ मेरो दलको तर्फबाट उहाँको परराष्ट्रमन्त्रीज्यूको स्पष्टीकरण अस्वीकार गरेको जानकारी गराउन चाहान्छौँ ।’ उनले भने ।