वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता भएको छ। अदालतले अभियोगपत्र संशोधनसम्बन्धी निवेदन स्वीकार गर्दै उक्त कसुर हटाउन अनुमति दिएको हो।
अदालतको आदेशपछि अब पर्साको सानो पाइला सहकारी प्रकरणमा लामिछानेसहितका प्रतिवादीविरुद्ध सहकारी ठगीको मुद्दा मात्र कायम रहने भएको छ। यसअघि कास्की अदालतले पनि उनीमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग हटाउने निर्णय गरिसकेको थियो।
अदालतले बचतकर्ताको रकम फिर्ता गराउने मुख्य उद्देश्यमा असर नपर्ने र मुद्दा समाधानको प्रक्रिया सहज हुने आधारमा अभियोग संशोधनलाई अनुमति दिएको जनाएको छ।
लामिछाने यसअघि एक करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए। यद्यपि उनीविरुद्ध काठमाडौं र रुपन्देहीमा दर्ता भएका संगठित अपराधसम्बन्धी मुद्दाहरू भने अझै विचाराधीन छन्।
महान्यायाधिवक्ताको कार्यालयले सहकारी प्रकरणका विभिन्न प्रतिवादीमाथि लगाइएका थप अभियोग फिर्ता लिने निर्णय गरेपछि सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरूले अदालतमा अभियोग संशोधनका लागि निवेदन दिएका थिए। यस विषयमा सर्वोच्च अदालतमा दायर रिट भने अझै सुनुवाइको क्रममा रहेको छ।








प्रतिक्रिया