३१ जेष्ठ २०८३, आइतबार

विद्यालयको शैक्षिक अवस्था बुझ्न उपाध्यक्ष चौधरीको छड्के अनुगमन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-कृष्ण पौडेल

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी ले गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा छड्के अनुगमन गर्दै शैक्षिक अवस्थाबारे जानकारी लिएकी छन्।

अनुगमनका क्रममा उपाध्यक्ष चौधरीले विद्यालयको पठनपाठन, शिक्षक तथा विद्यार्थीको उपस्थिती, सरसफाइ, अनुशासन र समग्र शैक्षिक वातावरणको स्थलगत अवलोकन गरेकी थिइन्। अधिकांश विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती उत्साहजनक देखिएको भन्दै उनले विद्यालय प्रशासन तथा शिक्षकहरूको कार्यप्रति प्रशंसा व्यक्त गरिन्।

उपाध्यक्ष चौधरीले गुणस्तरीय शिक्षा नै समाज विकासको प्रमुख आधार भएको उल्लेख गर्दै विद्यार्थीको भविष्य उज्ज्वल बनाउन अभिभावक, शिक्षक, विद्यालय प्रशासन र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले गाउँपालिकाले विद्यालयलाई अझ व्यवस्थित, अनुशासित तथा प्रविधिमैत्री बनाउन निरन्तर पहल गरिरहेको समेत जानकारी दिइन्।

अनुगमनकै क्रममा उनले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै नियमित अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गरेकी थिइन्। साथै शिक्षा क्षेत्रको सुधार र गुणस्तर वृद्धिका लागि आगामी दिनमा पनि नियमित अनुगमन तथा आवश्यक सहकार्यलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।

यता प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा ले केही विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती सन्तोषजनक रहे पनि केही विद्यालयमा सुधार गर्नुपर्ने अवस्था भेटिएको जानकारी दिए। उनले कमजोर पक्ष सुधार गर्न सम्बन्धित विद्यालय प्रशासनलाई आवश्यक निर्देशनसमेत दिइएको बताए।