काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भोलि सोमबार बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक बोलाएको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको छ ।
पाँच दिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएका सभापति लामिछानेले आजै पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन साहसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री साहले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रतिनिधि सभा बैठक भोलि (सोमबार) बस्नेछ । विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र बैठकमा आएर माफी माग्नुपर्ने माग राख्दै आएका छन् ।
यसैबीच, सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान साढे ९ बजे प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।








प्रतिक्रिया