४ असार २०८३, बिहिबार

विदेशबाट फर्केर कृषिमा सफलता, लोकबहादुर छेत्री चालिसेको प्रेरणादायी यात्रा

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । वैदेशिक रोजगारबाट फर्किएपछि स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् बागलुङको जैमिनी नगरपालिका–८, छिस्ती निवासी किसान लोकबहादुर क्षेत्री चालिसेले।

हाल उनले पोखरा महानगरपालिका–१४, चाउथे मा करिब १२ रोपनी जग्गा भाडामा लिएर गाई, भैंसी, बाख्रा, कुखुरा पालन तथा तरकारी खेती सञ्चालन गर्दै आएका छन्। करिब ४० देखि ५० लाख रुपैयाँको लगानीमा २०७८ सालदेखि सुरु गरिएको कृषि फर्मले अहिले राम्रो उत्पादन र आम्दानी दिन थालेको छ।

विदेशमा लामो समय श्रम गरेपछि स्वदेश फर्किएका क्षेत्रीले आफ्नै देशमा उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ कृषि व्यवसाय सुरु गरेको बताए। पशुपालन र तरकारी खेतीलाई एकीकृत रूपमा सञ्चालन गर्दा लागत घट्नुका साथै आम्दानीको स्रोत विविध बनेको उनको अनुभव छ।

“विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा मेहनत गर्दा आत्मसन्तुष्टि र सम्मान दुवै प्राप्त हुने रहेछ,” क्षेत्रीले भने, “कृषि क्षेत्रमा मेहनत, योजना र व्यवस्थापन गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ।”

फर्ममा उत्पादित दूध, मासु तथा ताजा तरकारी स्थानीय बजारमा बिक्री हुने गरेको छ। यसबाट परिवारको आर्थिक अवस्था सुदृढ हुनुका साथै केही व्यक्तिले रोजगारीको अवसर समेत पाएका छन्।

स्थानीय कृषक तथा सरोकारवालाहरूले छेत्रीको प्रयासलाई प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्। वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई कृषि तथा पशुपालनतर्फ आकर्षित गर्न उनको सफलताले सकारात्मक सन्देश दिएको छ।

नेपालमा कृषि क्षेत्रको ठूलो सम्भावना रहेको उल्लेख गर्दै छेत्रीले सरकारले कृषकलाई सहज ऋण, बजार व्यवस्थापन तथा प्राविधिक सहयोग उपलब्ध गराए थप युवाहरू कृषि क्षेत्रमा आकर्षित हुने विश्वास व्यक्त गरे।

स्वदेशमै मेहनत, लगनशीलता र उद्यमशीलताबाट सफल बन्न सकिन्छ भन्ने सन्देश लोकबहादुर क्षेत्री चालिसेको कृषि फर्मले दिएको छ। उनको सफल यात्राले वैदेशिक रोजगारबाट फर्किएका धेरै युवालाई नयाँ बाटो देखाउने अपेक्षा गरिएको छ।