३० जेष्ठ २०८३, शनिबार

श्रीप्रसाद ओली स्मृति अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार डा. शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई

राष्ट्रिय कृषि पुरस्कार एग्रो मनाङ र कृषि विज्ञ चुटराज गुरुङलाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले विसं २०८२ सालका लागि प्रदान गरिने ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्राध्यापक डा. सुरेशराज शर्मा र राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त पुरस्कारको राशि ५ लाख रुपैयाँ रहेको पुरस्कार आगामी जेठ ३० गते भृकुटीमण्डपमा आयोजना हुने सम्मान कार्यक्रममा प्रदान गरिने जनाएको हो ।

प्रतिष्ठानका अनुसार प्राध्यापक डा. शर्मालाई नेपालमा गुणस्तरीय प्राविधिक, व्यवसायिक तथा उच्च शिक्षाको विकास, विस्तार र प्रयोगमा पाँच दशकभन्दा बढी समय योगदान पुर्‍याएबापत सम्मान गर्न लागिएको हो ।

त्यसैगरी, राष्ट्रिय आविष्कार केन्द्रलाई देश सुहाउँदो नवप्रवर्तन र प्रविधि विकासका लागि युवा वैज्ञानिक तथा नवप्रवर्तकलाई प्रोत्साहन गर्दै राष्ट्रिय अनुसन्धानको अभियान अघि बढाएको योगदानको कदरस्वरूप सम्मान गरिन लागिएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै, ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ संयुक्त रूपमा एग्रो मनाङ प्रालि र कृषि विज्ञ चुटराज गुरुङलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशि १ लाख १ हजार १११ रुपैयाँ रहेको छ।

प्रतिष्ठानका अनुसार एग्रो मनाङ प्रालिलाई नेपालमा पहिलोपटक उच्च घनत्वको स्याउ खेती प्रवर्द्धन गर्दै स्थानीय उत्पादन वृद्धि, ग्रामीण रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा वातावरणीय सन्तुलनमा योगदान पुर्‍याएको आधारमा छनोट गरिएको हो । कृषि विज्ञ गुरुङलाई भने बागवानी क्षेत्रमा अध्ययन अनुसन्धान गरी नेपालको भौगोलिक अवस्था र हावापानी अनुकूल फलफूल विकास तथा जनशक्ति उत्पादनमा पुर्‍याएको योगदानका लागि सम्मान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

झापाको भद्रपुर–७ मा २०६७ सालमा स्थापना भएको प्रतिष्ठानले स्वर्गीय श्रीप्रसाद ओलीद्वारा स्थापना गरिएको एक करोड रुपैयाँको अक्षयकोषमार्फत विभिन्न सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानले कृषि, पत्रकारिता, साहित्य, आदर्श आमा तथा बाल प्रतिभा लगायतका क्षेत्रमा हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले समाज र राष्ट्रका लागि उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै सकारात्मक र प्रेरणादायी संस्कार विकास गर्ने उद्देश्यले पुरस्कार कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।