काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचन नजिकिँदै जाँदा सचिव पदका उम्मेदवार नवराज लुइटेल व्यवसायीहरूका बीच एक सक्षम, अध्ययनशील र दूरदर्शी नेतृत्वका रूपमा स्थापित हुँदै गएका छन् ।
ओमेगा इन्टरनेशनल प्रालिका सञ्चालक लुइटेल हरिबहादुर पाण्डे क्षेत्री नेतृत्वको स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट सचिव पदका उम्मेदवार हुन् ।
करिब दुई दशकदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय रहेका लुइटेलले व्यवसायका समस्या, चुनौती र सम्भावनालाई नजिकबाट नियालेका छन् । विशेषगरी पछिल्ला वर्षहरूमा युरोपेली श्रम बजारप्रति नेपाली युवाको आकर्षण बढ्दै गएसँगै व्यवसायीहरूले भोगिरहेका कानुनी, प्रशासनिक र नीतिगत समस्याबारे उनले निरन्तर आवाज उठाउँदै आएका छन् । यही अनुभव र बुझाइका आधारमा उनले संघको नेतृत्व तहमा पुगेर व्यवसायीहरूको पक्षमा प्रभावकारी भूमिका खेल्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
लुइटेलका अनुसार वैदेशिक रोजगार क्षेत्र अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । एकातिर नयाँ श्रम गन्तव्यहरूको विस्तार भइरहेको छ भने अर्कोतिर कानुनी जटिलता, नीतिगत अस्पष्टता, लागत वृद्धि, प्रशासनिक झन्झट र व्यवसायीमाथि बढ्दो दबाबले क्षेत्रलाई चुनौतीपूर्ण बनाइरहेको छ । यस्तो अवस्थामा व्यवसायीका वास्तविक समस्या बुझ्ने, समाधान खोज्न सक्ने र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको उनको भनाइ छ ।
व्यवसायीहरूका बीच पनि लुइटेललाई व्यवहारिक सोच भएको, समस्या समाधानमा केन्द्रित रहने र संस्थागत विकासका पक्षमा निरन्तर लाग्ने व्यक्तिका रूपमा लिइन्छ । संघभित्र मात्र होइन, समग्र वैदेशिक रोजगार क्षेत्रलाई समयअनुकूल बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको विषयमा उनले लामो समयदेखि वकालत गर्दै आएका छन् ।
सूचना प्रविधि सम्बन्धी ज्ञान र अनुभवलाई वैदेशिक रोजगार क्षेत्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै लुइटेलले नेपाल सरकारले अघि बढाइरहेको डिजिटल शासनको अवधारणासँग तालमेल हुने गरी वैदेशिक रोजगार क्षेत्रलाई पनि पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनका अनुसार अहिले व्यवसायीहरूले विभिन्न कार्यालय, विभागीय प्रक्रिया तथा कागजी झन्झटका कारण अनावश्यक समय र खर्च व्यहोर्नुपरेको अवस्था छ ।
यही समस्याको समाधानका लागि सम्पूर्ण व्यवसायीहरूको आवश्यकता समेट्ने एकीकृत तथा आधिकारिक डिजिटल एप प्लेटफर्म निर्माण आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए । यस्तो प्रणाली लागू भएमा व्यवसायी, श्रमिक, सरकारी निकाय र सरोकारवालाबीचको समन्वय थप सहज, पारदर्शी र प्रभावकारी हुने उनको विश्वास छ ।
लुइटेलले पूर्व अध्यक्ष रोहन गुरुङले अघि सारेको वैदेशिक रोजगार क्षेत्रको डिजिटल रूपान्तरणको अवधारणालाई व्यवहारमा उतार्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले व्यवसायी, सूचना प्रविधि विज्ञ, सरकारी निकाय तथा सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै आधुनिक र व्यवसायीमैत्री डिजिटल प्रणाली निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।
युरोप रोजगार व्यवस्थापन उनको अर्को महत्वपूर्ण एजेन्डा हो । पछिल्ला वर्षहरूमा युरोपेली मुलुकहरू नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित भइरहेका छन् । तर आवश्यक कानुनी संरचना, स्पष्ट नीति तथा प्रभावकारी समन्वयको अभावमा व्यवसायीहरूले अनेकौं कठिनाइ भोग्नुपरेको अवस्था रहेको उनको भनाइ छ ।
उनले युरोप लगायत नयाँ श्रम गन्तव्य मुलुकहरूमा कानुनसम्मत, सुरक्षित र व्यवस्थित व्यवसायिक वातावरण निर्माणका लागि संघको तर्फबाट प्रभावकारी पहल गर्ने बताए ।
त्यसैगरी, व्यवसायीका हकहितको संरक्षण, व्यवसायमैत्री नीति निर्माण, विभाग तथा सरकारसँग निरन्तर संवाद र समन्वय तथा संघलाई थप प्रभावकारी र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।
व्यवसायीहरूका अनुसार लुइटेलमा नेतृत्वसँगै व्यवस्थापन क्षमता, समन्वयकारी भूमिका निर्वाह गर्ने दक्षता र प्रविधिसम्बन्धी दूरदृष्टि रहेको छ । उनी विवादभन्दा समाधानमा विश्वास गर्ने, व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकता दिने तथा व्यवसायीहरूका साझा मुद्दामा स्पष्ट धारणा राख्ने व्यक्तित्वका रूपमा परिचित छन् ।
निर्वाचन अभियानका क्रममा लुइटेलले आफू निर्वाचित भए आगामी दुई वर्षे कार्यकाल पूर्ण रूपमा व्यवसायीहरूको हकहित, व्यवसायको संरक्षण, संस्थागत सुदृढीकरण र आधुनिक व्यवस्थापन प्रणाली निर्माणका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे । इमानदारी, पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैलीलाई आफ्नो नेतृत्वको आधार बनाउने उनको भनाइ छ ।
“सफल व्यवसायी, सुरक्षित वैदेशिक रोजगार, सम्मानित श्रमिक र उज्ज्वल वैदेशिक रोजगार हाम्रो साझा लक्ष्य हो,” लुइटेलले भनेका छन्, “समयले मागेको परिवर्तन, प्रभावकारी व्यवस्थापन र डिजिटल रूपान्तरणको यात्रामा सम्पूर्ण व्यवसायीहरूको साथ, सहयोग र विश्वास आवश्यक छ ।”
वैदेशिक रोजगार क्षेत्रलाई नयाँ सोच, नयाँ प्रविधि र नयाँ व्यवस्थापन संस्कृतितर्फ डोर्याउने स्पष्ट दृष्टिकोणका साथ मैदानमा उत्रिएका नवराज लुइटेललाई धेरै व्यवसायीहरूले सचिव पदका लागि सक्षम, योग्य र आवश्यक उम्मेदवारका रूपमा हेर्न थालेका छन् । युरोप रोजगार व्यवस्थापन, डिजिटल रूपान्तरण, व्यवसायीको हकहित संरक्षण तथा संस्थागत सुदृढीकरणका एजेन्डाले उनको उम्मेदवारीलाई यस निर्वाचनमा विशेष बनाएको व्यवसायीहरू बताउँछन् ।









प्रतिक्रिया