३१ जेष्ठ २०८३, आइतबार

अज्ञात समूहद्वारा जुम्लाको कनकासुन्दरी माविमा तोडफोड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–दानबहादुर बुढा

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ लुड्कुस्थित कनकासुन्दरी माध्यमिक विद्यालयमा अज्ञात समूहले मध्यरातमा प्रवेश गरी तोडफोड तथा आगजनीको प्रयास गरेको छ । विद्यालयका डिजिटल उपकरण, शैक्षिक सामग्री तथा पूर्वाधारमा ठूलो क्षति पुगेको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक नारायण न्यौपानेका अनुसार जेठ २१ गते राति करिब ९ बजेपछि अज्ञात व्यक्ति वा समूह विद्यालय परिसरमा प्रवेश गरी मुख्य विद्युत् लाइनको एमसीबी बन्द गरेर तारहरू काटेका थिए । त्यसपछि कार्यालय र कक्षाकोठामा रहेका विभिन्न उपकरणहरूमा तोडफोड गरिएको थियो ।

विद्यालयका अनुसार तोडफोडबाट १० वटा कम्प्युटर सीपीयू, दुई वटा ल्यापटप, स्मार्ट डिजिटल बोर्डको पावर केबल, ई–हाजिर प्रणाली, तीन वटा सीसीटीभी क्यामेरा, आरजे केबल, पाँच वटा हेड माइक, माइक हर्न तथा दुई वटा प्रोजेक्टरमा क्षति पुगेको छ ।

घटनापछि केही सामग्री विद्यालयबाट करिब १०० मिटर तल रहेको खोलाको किनारमा फालिएको अवस्थामा फेला परेको विद्यालयले जनाएको छ । त्यहाँबाट भित्ते घडी, डेस्कटप कम्प्युटर तथा सीसीटीभी क्यामेरा लगायतका सामग्री बरामद गरिएको छ । विद्यालय प्रशासनका अनुसार घटनाको सबैभन्दा गम्भीर पक्ष कक्षा ११ का विद्यार्थीहरूको परीक्षाका उत्तरपुस्तिका जलाउने प्रयास हो । कोठाभित्र सुरक्षित रूपमा राखिएका उत्तरपुस्तिकामा आगो लगाइएको र केही उत्तरपुस्तिका आंशिक रूपमा जलेको अवस्थामा फेला परेको प्रधानाध्यापक न्यौपानेले बताए ।

घटनाको कारणबारे अनुसन्धान जारी रहे पनि परीक्षा तथा विद्यालयसँग सम्बन्धित कुनै रिसइबीका कारण यस्तो कार्य भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विद्यालयले जनाएको छ ।

कनकासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जीवन रोकायाले शैक्षिक संस्थामाथि भएको यस्तो आपराधिक गतिविधि अत्यन्त दुःखद र निन्दनीय भएको बताए । उनले दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गर्दै विद्यालयमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी आवश्यक सहयोग तथा पुनःस्थापनाका लागि गाउँपालिकाले पहल गर्ने जानकारी दिए ।

विद्यालयका निमित्त प्रधानाध्यापक मरिचमान काफ्लेद्वारा हस्ताक्षरित पत्रमार्फत प्रहरी चौकी गोठिज्युला, जुम्लालाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न अनुरोध गरिएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ ।

स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालाले विद्यालय जस्तो संवेदनशील क्षेत्रमा भएको तोडफोड र आगजनीको प्रयासले शिक्षा क्षेत्रमै नकारात्मक सन्देश गएको भन्दै दोषीलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।