सर्लाही । सर्लाहीमा विद्यालयबाट फर्किंदै गरेकी ५ वर्षीया बालिकाको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
बिहीबार दिउँसो करिब १२ बजे जिल्लाको बलरा नगरपालिका–६ मिर्जापुरस्थित भित्री सडक खण्डमा गडहियाबाट मिर्जापुरतर्फ आउँदै गरेको ना.४ त.८८३४ नम्बरको सिमेन्ट र छड लोड गरिएको ट्याक्टरले स्थानीय अर्जुन साहकी छोरी ५ वर्षीया अंकिताकुमारी साहलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । मिर्जापुरस्थित श्री आधारभूत विद्यालयबाट पढेर घर फर्किने क्रममा अंकितालाई ट्याक्टरले ठक्कर दिएको थियो ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्नाहा, छन्किटोला, इलाका प्रहरी कार्यालय बलरा र इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा संलग्न ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तर ट्याक्टर चालक बलरा नगरपालिका–६ निवासी १८ वर्षीय कृष्णकुमार साह भने घटनापछि फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।








प्रतिक्रिया