हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
यही जेठ ३० गते बिहान ८ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म हेटौंडा–४ स्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा शिविर हुन लागेको हो ।
हेटौंडा–४ वडा कार्यालयको आयोजना, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर शाखाको सहआयोजना, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको विशेष सहयोग र टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको व्यवस्थापनमा स्वास्थ्य शिविर हुन लागेका वडा अध्यक्ष नवीन सिग्देलले बताए ।
यो बृहत् शिविर तेस्रोपटक ४ नम्बर वडा कार्यालय र नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुर शाखाको सहकार्यमा हुन लागेको अध्यक्ष सिग्देलले बताए । निःशुल्क शिविरमा मुटु रोग, स्त्री रोग र क्षय रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिने बताइएको छ । निःशुल्क रूपमा भिडियो एक्सरे, ईसिजी, ईको सेवा उपलब्ध गराइनेछ ।
शिविरमा सुगर र लिपिड प्रोफाइल जेकजाँच, छातीको एक्सरे, पी एफटी (दम जाँच) निःशुल्क गरिने बताइएको छ ।
शिविरमा महिलाको पाठेघर जाँच, पाठेघर मुखको क्यान्सर चेकजाँच गरिनेछ । साथै, जनरल फिजिसियन सेवा समेत उपलब्ध गराइने र ७ दिनको लागि आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराइने वडा अध्यक्ष सिग्देलले जानकारी दिए । उनले शिविरबाट हुने निःशुल्क सेवाको उपयोग गर्न सबै वडाबासी तथा सर्वसाधारणमा आग्रह गरेका छन् ।









प्रतिक्रिया