५ असार २०८३, शुक्रबार

जलवायु अनुकूलन योजनाको अनुगमन गर्न विजयनगरमा अष्ट्रेलियाली राजदूत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-कृष्ण पौडेल

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका मा सञ्चालन भइरहेको Local Climate Adaptive Living (LoCAL) परियोजनाको प्रगति, प्रभाव र कार्यान्वयन अवस्थाबारे अन्तरक्रिया तथा स्थलगत अनुगमन कार्यक्रम सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय पुँजी कोष (यूएनसीडीएफ) को साझेदारीमा सञ्चालित उक्त परियोजनाको अनुगमनका लागि नेपालका लागि अष्ट्रेलियाली राजदूत साइमन इर्न्स्ट विजयनगर पुगेका थिए ।

राजदूत इर्न्स्टको स्वागत गाउँपालिका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीले भव्य रूपमा गरेका थिए । कार्यक्रममा परियोजनाअन्तर्गत सञ्चालन भइरहेका योजना, तिनको प्रभाव, स्थानीयस्तरमा देखिएका परिवर्तन तथा आगामी सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो ।

हाल विजयनगर गाउँपालिकामा करिब २ करोड ७२ लाख रुपैयाँ बराबरका विभिन्न जलवायु अनुकूलन, कृषि, सिँचाइ तथा पूर्वाधार विकासका योजनाहरू सञ्चालनमा रहेका छन् । बुधबार गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा लगायतको टोलीले विभिन्न योजनाको स्थलगत अनुगमन गरेको प्रशासन शाखा प्रमुख बोधराज भुसालले जानकारी दिए ।

अनुगमन टोलीले थरौली भाठा स्टिल ट्रस निर्माण, प्रेमनगर हाटबजार तथा लोहरौला हाटबजार स्तरोन्नति एवं व्यवस्थापन, गेडुवाजोत लिफ्ट सिँचाइ पाइपलाइन तथा विद्युत् विस्तार, साथै ज्योतिनगर लिफ्ट सिँचाइ तथा पाइपलाइन विस्तार योजनाको अवलोकन गरेको प्राविधिक अधिकृत हेमन्त कुमार चौधरीले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले LoCAL परियोजनाले स्थानीय समुदायको जीवनस्तर सुधार, कृषि उत्पादन वृद्धि तथा दिगो पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती न्यूनीकरण गर्दै स्थानीयलाई आत्मनिर्भर बनाउने दिशामा परियोजनाले सकारात्मक प्रभाव पारेको उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले परियोजनाअन्तर्गतका योजनाहरू निर्धारित समयमै गुणस्तरीय रूपमा कार्यान्वयन भइरहेको जानकारी दिँदै यसबाट किसान, व्यवसायी तथा स्थानीय समुदाय प्रत्यक्ष लाभान्वित भइरहेको बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रमा थप योजनाको आवश्यकता रहेको भन्दै गाउँपालिकाले सम्बन्धित निकायसँग थप सहयोगका लागि पहल गरिरहेको जानकारी दिए ।
अनुगमनका क्रममा परियोजनाले कृषि उत्पादन वृद्धि, बजार पहुँच विस्तार, रोजगारी सिर्जना तथा जलवायु परिवर्तनका असर सामना गर्न स्थानीय समुदायको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालिएको थियो ।

गाउँपालिकाले आगामी दिनमा समेत यस्ता विकासमुखी तथा जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।