१५ असार २०८३, सोमबार

करिब ५५ लाख रकमसहित मलेसिया जाँदै गरेका नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ५४ लाख ७१ हजार रुपैयाँसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ परेका छन् । कराई भित्र लुकाएर मलेसिया लैजाँदै गरेको अवस्थामा ५४ लाख ७१ हजार रकमसहित नेपाल एयरलाइन्सका कर्मचारी सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थलीमा बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वास पक्राउ परेका हुन् ।

उनी १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत थिए । उनी सोमबार राति साढे ८ बजे बटिक एयरको उडानमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर जान लागेका थिए ।

विमानस्थल प्रहरीद्वारा गरिएको ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा उनको कालो रंगको लगेजभित्र फलामको कराइमा लुकाइएका अवस्थामा विभिन्न देशका मुद्रा फेला परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

उनको राहदानी जाँच गर्दा उक्त मुद्राको वैधानिक दरपिठ नभएको तथा उनले नेपालबाट हालसम्म २६ पटक विदेश यात्रा गरेको देखिएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको छ ।