काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले अर्थ मन्त्रालयको वेबसाइटमा बजेट वक्तव्य सदनमा प्रस्तुत हुनुअघि नै सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महरले जेठ १५ गते (शुक्रबार) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभामा दिउँसो ४ः१३ बजेबाट बजेट वक्तव्य वाचन सुरु गरेको भए पनि अर्थ मन्त्रालयको वेबसाइटमा बजेट वक्तव्य दिउँसो १ः४७ बजे नै अपलोड भएको बताए ।
महरले सांसदहरूले समेत बजेट वक्तव्यको पुस्तिका सदनमा भाषण सकिएपछि मात्र प्राप्त गर्ने उल्लेख गर्दै बजेट सार्वजनिक प्रक्रियामा गम्भीर कमजोरी भएको बताए । उनले सदनमा प्रस्तुत हुनुअघि नै बजेट वक्तव्य वेबसाइटमा राखिनु ‘गम्भीर अपराध’ भएको टिप्पणी गर्दै यसमा ठूलो चलखेल भएको आशंका व्यक्त गरे ।
‘बजेट वक्तव्य आउनु अघि नै मन्त्रालयको वेव साइटमा आउनु भनेको यहाँ गम्भीर कमजोरी भएको र सार्वभौम सदनको अवहेलना मानिन्छ ।’ महरले भने ।
उनले बजेट वक्तव्य सार्वजनिक गर्ने प्रक्रियाले सार्वभौम संसद्को अवहेलना गरेको जिकिर गर्दै घटनाबारे स्पष्ट जवाफ दिन अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएका छन् ।
महरले अर्थमन्त्री वाग्लेलाई सार्वजनिक रूपमा माफी माग्न र अविलम्व सदनमा उपस्थित भई यस विषयमा जवाफ दिन समेत आग्रह गरेका छन् ।









प्रतिक्रिया