३१ जेष्ठ २०८३, आइतबार

महिला सहभागिताका लागि छोरीको नेतृत्व विकास बढाउनुपर्छ : प्रदेश प्रमुख जोशी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले राज्यका विभिन्न तहमा महिला सहभागिता बढाउन छोरीहरुको नेतृत्व क्षमता बढाउनुपर्ने बताएका छन् । राज्यका हरेक तहमा महिला सहभागिता आरक्षणको रुपमा नभई प्रतिस्पर्धाको माध्यमबाट बढाउन नेतृत्व विकास जरुरी भएको उनको भनाई छ ।

शनिबार वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन उद्घाटन गर्दै कर्णालीको हरेक तहमा छोरीको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने बताए । ‘कर्णालीमा हरेक क्षेत्रमा महिलाहरुको सहभागिता बढिरहेको छ’ उनले भने, ‘अब कर्णालीका छोरीहरुको अर्थपूर्ण सहभागिता बढाउन जरुरी छ ।’ संविधानले दिएको बाध्यकारी व्यवस्था कार्यान्वयनका बढेको सहभागितालाई अझ अर्थपूर्ण बनाउनु पर्ने उनको भनाई छ ।

मुलक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि राज्यका हरेक निकायमा महिलाहरुको सहभागिता बढेको भन्दै यसको प्रभावकारी कार्यान्वयन जरुरी भएको उनले बताए । कर्णालीका छोरीहरुको नेतृत्व विकास, शिक्षा र अवसरमा सबैको सहकार्य जरुरी भएको उनले बताए । कर्णाली प्राकृतिक सम्पदाको धनी भएको भन्दै यहाँको समग्र बिकासका लागि पनि महिला सहभागिता बढाउनु पर्नेमा उनले जोड दिए ।

‘कर्णाली प्राकृतिक सम्पदाको धनी प्रदशे हो’ उनले भने, ‘नेपाली भाषाको जननी, धेरै जातीहरुको उद्गमस्थल, पर्यटकीय स्थलहरुको धनी, जडिबुटीको खानी हो ।’

कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले राजनितिक व्यवस्था परिवर्तनसँगै हरेक तहका संरचनामा महिला सहभागिता बढ्दै गए पनि त्यसलाई अर्थपूर्ण बनाउनु पर्ने बताए । कर्णालीका छोरीहरुले राज्यका विभिन्न संरचनामा प्रगती गर्न सफल भएको भन्दै उनले त्यसलाई प्रेरणाको रुपमा लिनुपर्नेमा जोड दिए ।

‘कर्णालीमा छोरीहरुको प्रगतिले प्ररेणादायी छ’ उनले भने, ‘राजनितक दल, निजामती, संवैधानिक आयोगलगायतका क्षेत्रमा कर्णालीका छोरीहरुको सहभागिता बढ्दै गएको छ । यसलाई अझ बढाउनु पर्छ ।’

छोरी सम्मेलनको उद्घाटनमा कर्णाली प्रदेश सरकारका समाजिक विकासमन्त्री घनश्याम भण्डारी, कर्णाली प्रदेश सभामा नेकपा (एमाले)का सचेतक जीतबहादुर मल्ल, नेकपाका सचेतक मंगलबहादुर शाही, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल लगायतले कर्णालीमा महलिा सहभागिता बढाउन प्रदेश र स्थानीय तहका सरकारहरुले खेल्ने भूमिका प्रभावकारी बनाउन आवश्यक नीति बनाउने प्रतिबद्धता जनाएका छन् ।

श्री ज्योती फाउण्डेसनले आयोजना गरेको छोरी सम्मेलनको दोस्रो संस्करण हो । बालिका, किशोरी तथा महिलामाथि हुने लैगिंक विभेद, बालविवाह, छाउपडी, घरेलु हिंसा, यौन दुव्र्यवहार र मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध सम्मेलन गरिएको आयोजकले जनाएको छ ।

कर्णालीका ७९ स्थानीय तहबाट २/२ जना बालिकाको र लोपोन्मुख राउटे, राजी, कुसुण्डा, बादी र बोटे समुदायका झण्डै २ सय ५० छोरीहरु सहभागी हुने र कार्यक्रममा कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्षका अनुभव प्रस्तुत गर्नेछन् ।