-अन्जनी कुमार अधिकारी
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा व्यावसायिक खरबुजा खेतीले यतिबेला स्थानीयको ध्यान खिच्न थालेको छ । केही वर्षअघिसम्म नदी कटानका कारण उपयोगविहीन बनेको बालुवायुक्त जमिन अहिले हरियालीले भरिएको छ । त्यही जमिनमा स्थानीय युवा कृषक पुलकित चौधरीले व्यावसायिक रूपमा खरबुजा खेती सुरु गरेर उदाहरणीय काम गर्नुभएको हो ।
गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका बेला चौधरीले करिब ६ बिगा क्षेत्रफलमा यसको खेती गर्नुभएको छ । यस वर्ष मात्रै करिब ३ हजार केजीभन्दा बढी उत्पादन भएको उनले बताए। आगामी वर्ष थप जमिन लिजमा लिएर खेती विस्तार गर्दै ९ देखि १० बिगासम्म पु¥याउने योजना रहेको उनको भनाइ छ ।
“नदीले कटान गरेर बालुवामा परिणत गरेको जमिनलाई उपयोग गरेर केही नयाँ गर्ने सोच आयो,” चौधरीले भने, “अहिले उत्पादन राम्रो भएको छ । अझ व्यवस्थित ढंगले अघि बढ्ने योजना बनाएको छु ।”
उनका अनुसार खेतीमा कुनै पनि प्रकारको विषादी प्रयोग गरिएको छैन । पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गरिएको खरबुजाले बजारमा राम्रो प्रतिक्रिया पाएको उहाँले बताउनुभयो । स्वादिलो, रसिलो र विषादीरहित भएकाले स्थानीय उपभोक्ताको आकर्षण बढ्दै गएको छ ।
खरबुजा खेतीसँगै चौधरीले बेमौसमी तरकारी उत्पादनको तयारी पनि गरिरहेका छन्। कृषि क्षेत्रलाई व्यवसायिक र दीर्घकालीन आम्दानीको स्रोत बनाउने लक्ष्यसहित उनी अघि बढेका हुन् । उनका अनुसार यो योजनाले आगामी दिनमा ३० देखि ४० जनासम्मलाई प्रत्यक्ष रोजगारी दिने सम्भावना छ ।
“कृषिमा ठूलो सम्भावना देखेर नै म यो क्षेत्रमा लागेको हुँ,” चौधरीले भने, “यदि स्थानीय सरकारले बजारीकरण, कृषि प्राविधिक तथा अनुदानमा सहयोग ग¥यो भने अझ धेरै काम गर्न सकिन्छ ।”
चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा ले नगरपालिकाबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए । विषादीरहित अर्गानिक उत्पादनले आफूलाई उत्साहित बनाएको उल्लेख गर्दै उनीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
“स्थानीय किसानको मेहनतलाई सम्मान गर्दै उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नगरपालिका प्रतिबद्ध छ,” मेयर लामाले भने, “यस्ता नमुना खेतीलाई प्रोत्साहन गर्नु आवश्यक छ ।”
विशेषज्ञहरूका अनुसार खरबुजा खेतीका लागि बलौटे वा दोमट माटो अत्यन्त उपयुक्त मानिन्छ । यस्तो जमिनमा पानी नजम्ने भएकाले बिरुवाको वृद्धि राम्रो हुने र उत्पादनसमेत बढी हुने गर्छ । पर्याप्त घाम र न्यानो हावापानी हुने क्षेत्र खरबुजा खेतीका लागि अझ उपयुक्त मानिन्छ ।
उदयपुरको त्रियुगा नदी आसपासका धेरै क्षेत्र बलौटे तथा दोमट माटोयुक्त भएकाले यहाँ व्यावसायिक खरबुजा खेतीको ठूलो सम्भावना रहेको कृषकहरू बताउँछन् । राज्यले यस्ता खेतीमा प्रोत्साहन, प्रविधि र बजार व्यवस्थापनमा सहयोग गर्न सके स्थानीय किसान आत्मनिर्भर बन्नुका साथै युवालाई गाउँमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।












प्रतिक्रिया