२७ असार २०८३, शनिबार

सगरमाथा दिवस मनाइँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ सगरमाथा दिवस मनाइँदैछ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानवले सफलतापूर्वक आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष मे २९ मा यो दिवस मनाउने गरिन्छ ।

सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका थिए । त्यसयता सगरमाथा नेपालको पहिचान, गौरव र पर्यटनको प्रमुख आधारका रूपमा स्थापित हुँदै आएको छ ।

नेपालमा रहेका हिमशृङ्खलामध्ये सगरमाथा विश्वभरका पर्वतारोहीको प्रमुख आकर्षणको केन्द्र मानिन्छ । हालसम्म हजारौँ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आठ वटा नेपालमै अवस्थित हुनु नेपालको विशेषता हो ।

सन् २०२१ मा नेपाल र चिनले संयुक्त रूपमा गरेको पुनःमापनपछि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर कायम गरिएको थियो ।

सगरमाथा दिवसको अवसरमा विभिन्न सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी संस्था तथा स्थानीय तहहरूले हिमाली पर्यटन प्रवद्र्धन, सुरक्षित आरोहण र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरि मनाउने गर्दछन् । पछिल्लो समय हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, हिउँ पग्लिने समस्या र हिमताल विस्फोटको जोखिमलाई ध्यानमा राख्दै सरोकारवालाले हिमाली क्षेत्र संरक्षणमा विशेष जोड दिएका छन् ।

पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिन्छ। हिमाल हेर्न, पदयात्रा गर्न तथा आरोहणका लागि हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौँ पर्यटक नेपाल आउने गरेका छन् । सगरमाथाले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा विशिष्ट परिचय दिलाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।