१२ असार २०८३, शुक्रबार

किशोरहरूमा बढ्दो लत : नेपाल मौन मानसिक स्वास्थ्य संकटतर्फ

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–विपिन थापा

नेपालमा किशोरहरूबीच लागूपदार्थ तथा व्यवहारजन्य लतको समस्या तीव्र रूपमा बढिरहेको छ । यो अब केवल ‘बिग्रिएको बानी’, ‘अनुशासनहीनता’, वा ‘चरित्रको कमजोरी’को विषय रहेन । आजको सन्दर्भमा लत मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध, सामाजिक संरचना, भावनात्मक असुरक्षा, तथा सार्वजनिक स्वास्थ्यसँग गाँसिएको गम्भीर राष्ट्रिय संकटको रूपमा विस्तार हुँदै गएको छ । तर विडम्बना के छ ? भने समस्या जति गहिरिँदै गएको छ, त्यसलाई बुझ्ने हाम्रो दृष्टिकोण भने अझै सतही र दण्डात्मक नै छ ।

हामी अझै पनि लागूपदार्थ प्रयोग गर्ने किशोरलाई ‘बिग्रिएको बच्चा’ भन्छौँ । दिनभर मोबाइल चलाउने किशोरीलाई ‘अटेरी’ ठान्छौँ । रातभर अनलाइन खेल खेल्ने बालकलाई ‘अनुशासनहीन’ भनेर दण्डित गर्छौँ । तर धेरै अवस्थामा यी व्यवहारहरू वास्तविक समस्या होइनन्, बरु गहिरो मानसिक पीडा, भावनात्मक उपेक्षा, असुरक्षा, एक्लोपन, वा तनावका बाहिरी संकेत मात्र हुन् । किशोरहरूले धेरै पटक आफूभित्रको पीडा शब्दमा व्यक्त गर्न सक्दैनन् । त्यसपछि उनीहरू व्यवहारमार्फत आफ्नो संघर्ष देखाउन थाल्छन् । कहिलेकाहीँ त्यो अत्यधिक रिसको रूपमा देखिन्छ, कहिलेकाहीँ सामाजिक अलगावको रूपमा, र कहिलेकाहीँ लागूपदार्थ वा डिजिटल दुनियाँमा हराउने माध्यमका रूपमा ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक सातमध्ये एक किशोर कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । किशोरावस्थामा देखिने अवसाद, चिन्ता, आत्महानी, जोखिमपूर्ण व्यवहार, तथा लागूपदार्थ प्रयोगबीच प्रत्यक्ष सम्बन्ध रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । संयुक्त राष्ट्रसंघीय लागूपदार्थ तथा अपराध नियन्त्रण कार्यालयको सन् २०२५ को प्रतिवेदन अनुसार विश्वभर लागूपदार्थ प्रयोगकर्ताको संख्या ३१ करोडभन्दा बढी पुगेको छ । पछिल्लो दशकमा यो संख्या उल्लेखनीय रूपमा बढेको छ, र यसको ठूलो प्रभाव किशोर तथा युवा पुस्तामा देखिएको छ। विश्व स्वास्थ्य संगठनले अत्यधिक अनलाइन खेल खेल्ने अवस्थालाई औपचारिक मानसिक स्वास्थ्य समस्याका रूपमा मान्यता दिइसकेको छ। यसले के संकेत गर्छ भने, अहिलेको पुस्ता केवल पदार्थजन्य लतबाट मात्र होइन, डिजिटल तथा व्यवहारजन्य लतबाट पनि गम्भीर रूपमा प्रभावित भइरहेको छ।

नेपालमा पनि अवस्था कम गम्भीर छैन । वर्ल्ड भिजन इन्टरनेशनल नेपालद्वारा किशोरकिशोरीहरूमा गरिएको अध्ययन अनुसार झन्डै १५.८७ प्रतिशत किशोरकिशोरीहरूले कुनै न कुनै प्रकारको लागूपदार्थ प्रयोग गरिरहेका छन् ।

नेपालमा पनि अवस्था कम गम्भीर छैन । वर्ल्ड भिजन इन्टरनेशनल नेपालद्वारा किशोरकिशोरीहरूमा गरिएको अध्ययन अनुसार झन्डै १५.८७ प्रतिशत किशोरकिशोरीहरूले कुनै न कुनै प्रकारको लागूपदार्थ प्रयोग गरिरहेका छन् । तीमध्ये ८०.८ प्रतिशत बालक र १९.२ प्रतिशत बालिका रहेका छन् । अध्ययनले मदिरा, सुर्तीजन्य पदार्थ, तथा गाँजा किशोरहरूमा सबैभन्दा बढी प्रयोग हुने पदार्थका रूपमा देखाएको छ । अझ चिन्ताजनक कुरा के छ भने, धेरै किशोरहरूले १४ देखि १६ वर्षको उमेरमै पदार्थ प्रयोग सुरु गर्ने गरेका छन् । साथीहरूको दबाब, जिज्ञासा, तथा मनोरञ्जन प्रमुख कारणका रूपमा देखिएका छन् । अध्ययनले ७७ प्रतिशत किशोरहरूलाई पदार्थ प्रयोगका दीर्घकालीन स्वास्थ्य जोखिमबारे पर्याप्त जानकारी नभएको पनि देखाएको छ । यी तथ्यांकहरू केवल अनुसन्धानका संख्या होइनन्; यी हाम्रो समाजभित्र मौन रूपमा बढिरहेको संकटका संकेत हुन् ।

आज नेपालमा पदार्थजन्य मात्र होइन, व्यवहारजन्य लत पनि तीव्र रूपमा बढिरहेको छ । विशेषगरी किशोरहरूमा टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, अनलाइन खेल, अश्लील सामग्री, अनलाइन जुवा, तथा अत्यधिक स्क्रिन प्रयोग गम्भीर समस्याका रूपमा देखिन थालेका छन् । धेरै अभिभावकहरू अझै पनि ‘मोबाइल धेरै चलाएको मात्रै हो’ भनेर समस्यालाई सामान्य बनाउने गर्छन् । तर समस्या त्यतिबेला सुरु हुन्छ, जब बच्चाले आफ्नो पढाइ, निद्रा, भावनात्मक नियन्त्रण, तथा सामाजिक सम्बन्ध गुमाउन थाल्छ । पछिल्ला केही वर्षमा मेरो व्यावसायिक अभ्यासमा पनि एउटा स्पष्ट परिवर्तन देखिएको छ । पहिले मुख्यतः पदार्थजन्य लतका केसहरू बढी आउने गर्थे । अहिले भने स्क्रिन, डिजिटल सम्बन्ध, अनलाइन खेल, तथा सामाजिक सञ्जालसँग सम्बन्धित समस्याहरू उल्लेखनीय रूपमा बढेका छन् ।

लत वास्तवमा केवल पदार्थको समस्या होइन । यो सोच, व्यवहार, भावना, तथा जीवनशैलीसँग सम्बन्धित जटिल मनोवैज्ञानिक अवस्था हो । पुनःस्थापनाको क्षेत्रमा लामो समयदेखि एउटा महत्त्वपूर्ण अवधारणा प्रयोग हुँदै आएको छ कि लत केवल पदार्थमा निर्भरता मात्र होइन, यो डर, असुरक्षा, कम आत्मसम्मान, तथा नकारात्मक सोचसँग पनि जोडिएको हुन्छ ।

लत वास्तवमा केवल पदार्थको समस्या होइन । यो सोच, व्यवहार, भावना, तथा जीवनशैलीसँग सम्बन्धित जटिल मनोवैज्ञानिक अवस्था हो । पुनःस्थापनाको क्षेत्रमा लामो समयदेखि एउटा महत्त्वपूर्ण अवधारणा प्रयोग हुँदै आएको छ कि लत केवल पदार्थमा निर्भरता मात्र होइन, यो डर, असुरक्षा, कम आत्मसम्मान, तथा नकारात्मक सोचसँग पनि जोडिएको हुन्छ । सोचले व्यवहार निर्माण गर्छ, व्यवहार दोहोरिँदा बानी बन्छ, र बानी नियन्त्रणबाहिर जाँदा निर्भरता विकसित हुन्छ । यही कारण लतलाई अहिले विश्वव्यापी रूपमा मस्तिष्कसँग सम्बन्धित दीर्घकालीन रोगका रूपमा बुझिन्छ । यो क्रमशः बढ्ने, पुनः दोहोरिने सम्भावना रहने, र उपचारबिना गम्भीर परिणाम निम्त्याउन सक्ने अवस्था हो । उपचारबिना यसको परिणाम सम्बन्ध विच्छेद, हिंसा, मानसिक रोग, अस्पताल भर्ना, जेल, वा अकाल मृत्यु समेत हुन सक्छ ।

किशोरहरू लतप्रति बढी संवेदनशील हुनुको अर्को महत्त्वपूर्ण कारण उनीहरूको मस्तिष्क अझै विकासको चरणमा हुनु हो । निर्णय क्षमता, आत्मनियन्त्रण, तथा जोखिम मूल्यांकनसँग सम्बन्धित मस्तिष्कीय संरचना पूर्ण विकसित भइसकेको हुँदैन । त्यसैले किशोरहरू तत्काल आनन्द दिने व्यवहारतर्फ छिटो आकर्षित हुन्छन् । धेरै किशोरहरू लततर्फ ‘रमाइलो’ का लागि मात्र जाँदैनन् । धेरैले तनाव कम गर्न, भावनात्मक पीडाबाट भाग्न, असफलताको भावना बिर्सन, आफूलाई स्वीकारिएको महसुस गर्न, वा एक्लोपन हटाउन पदार्थ वा डिजिटल दुनियाँलाई आश्रय बनाउँछन् । कहिलेकाहीँ लत आफैं समस्या होइन, बरु त्यो कुनै गहिरो मानसिक पीडाको लक्षण हुन्छ ।

मेरो व्यावसायिक अनुभवमा यस्ता धेरै घटनाहरू आएका छन्, जहाँ परिवारले ‘मोबाइलको लत’, ‘खेलको लत’, वा ‘बिग्रिएको बानी’ भनेर ल्याएको किशोर वास्तवमा गहिरो भावनात्मक संघर्षबाट गुज्रिरहेको हुन्छ ।

मेरो व्यावसायिक अनुभवमा यस्ता धेरै घटनाहरू आएका छन्, जहाँ परिवारले ‘मोबाइलको लत’, ‘खेलको लत’, वा ‘बिग्रिएको बानी’ भनेर ल्याएको किशोर वास्तवमा गहिरो भावनात्मक संघर्षबाट गुज्रिरहेको हुन्छ । काठमाडौंका १६ वर्षीय एक किशोर दिनमा १५ घण्टासम्म अनलाइन खेल खेल्थे । मोबाइल खोस्दा हिंसात्मक प्रतिक्रिया दिन्थे । परिवारले उनलाई ‘अनुशासनहीन’ ठानेको थियो । तर परामर्शका क्रममा थाहा भयो कि उनी विद्यालयमा लगातार अपमान र जिस्क्याइँको सिकार भएका रहेछन् । उनी सामाजिक रूपमा असुरक्षित महसुस गर्थे र सार्वजनिक रूपमा बोल्न डराउँथे । उनका लागि अनलाइन खेल मनोरञ्जन मात्र थिएन, त्यो वास्तविक जीवनबाट लुक्ने सुरक्षित ठाउँ बनिसकेको थियो ।

त्यस्तै, १७ वर्षीया एक किशोरी रातभर सामाजिक सञ्जालमा सक्रिय रहन्थिन् । परिवारले ‘मोबाइल बिगार्‍यो’ भनेर लगातार गाली गरिरहेको थियो । तर गहिरो मनोसामाजिक परामर्शपछि थाहा भयो कि उनी लामो समयदेखि भावनात्मक उपेक्षा, आत्मसम्मानको कमी, तथा एक्लोपनसँग संघर्ष गरिरहेकी थिइन् । उनले एक दिन भनिन्, ‘अनलाइन हुँदा कम्तिमा कसैले मलाई देख्छ त ।’ त्यो वाक्य केवल एउटी किशोरीको पीडा मात्र होइन, आजका धेरै किशोरहरूको मौन भावनात्मक संघर्षको प्रतिनिधित्व हो ।

नेपालमा मानसिक स्वास्थ्य तथा लतसम्बन्धी सेवाहरू अझै पर्याप्त पहुँचयोग्य छैनन् । धेरै जिल्लामा विशेषज्ञ सेवा उपलब्ध छैन । विद्यालयहरूमा मनोसामाजिक सहयोग प्रणाली कमजोर छ । परिवारमा खुला संवादको अभ्यास कम छ । अझै पनि धेरै अभिभावक ‘डर देखाएर सुधार्ने’ सोचमै छन् । त्यसको परिणाम के हुन्छ भने– किशोरहरू झन् एक्लिन्छन् । उनीहरू सहयोग खोज्न डराउँछन् । धेरै परिवारहरूले समस्या लुकाउने प्रयास गर्छन् । विशेषगरी महिलाहरू सामाजिक लज्जाका कारण चुपचाप पीडा सहिरहेका हुन्छन् ।

लतको उपचार सम्भव छ । तर उपचार केवल औषधि वा पुनःस्थापना केन्द्रले मात्र सम्भव हुँदैन । यसका लागि परिवार, विद्यालय, समुदाय, स्वास्थ्य प्रणाली, तथा राज्यको संयुक्त संवेदनशीलता आवश्यक हुन्छ ।

लतको उपचार सम्भव छ । तर उपचार केवल औषधि वा पुनःस्थापना केन्द्रले मात्र सम्भव हुँदैन । यसका लागि परिवार, विद्यालय, समुदाय, स्वास्थ्य प्रणाली, तथा राज्यको संयुक्त संवेदनशीलता आवश्यक हुन्छ । हामीले किशोरहरूलाई केवल ‘के नगर्ने’ भनेर सिकाउने होइन, भावना कसरी व्यवस्थापन गर्ने, तनावसँग कसरी जुध्ने, अस्वीकृति कसरी सहने, स्वस्थ सम्बन्ध कसरी बनाउने, तथा सहयोग कसरी खोज्ने भन्ने पनि सिकाउनुपर्छ ।

अभिभावकहरूले बच्चाको व्यवहारमा आएको परिवर्तनलाई समयमै बुझ्नुपर्छ । शिक्षकहरूले केवल अनुशासन होइन, भावनात्मक संकेत पनि हेर्नुपर्छ । र राज्यले मानसिक स्वास्थ्यलाई अझै दोस्रो प्राथमिकतामा राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।
किशोरहरूको लत केवल एउटा व्यक्तिको समस्या होइन । यो हाम्रो सामाजिक संरचना, पारिवारिक सम्बन्ध, डिजिटल संस्कृतिको प्रभाव, तथा भावनात्मक असुरक्षाको सम्मिलित परिणाम हो । त्यसैले अब समय आएको छ– लतलाई दोष होइन, उपचारको दृष्टिले हेर्ने । किनकी सही समयमा बुझाइ, सहयोग, र उपचार पाए धेरै किशोरहरू फेरि सुरक्षित, सम्मानपूर्ण, र अर्थपूर्ण जीवनतर्फ फर्किन सक्छन् ।

(लेखक विपिन थापा मनोपरामर्शदाता तथा लत उपचार विशेषज्ञ हुन् । उनी किशोर मानसिक स्वास्थ्य, पदार्थ दुर्व्यसन, व्यवहारजन्य लत, पुनःस्थापना, तथा मनोसामाजिक सहयोगका क्षेत्रमा कार्यरत छन् ।)