काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमतासम्बन्धी हाल उठाइएका विवाद र आरोपप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
नाडाले प्रेस विज्ञप्ति जारी गर्दै इभी आयात प्रक्रिया अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उत्पादक कम्पनीहरूको प्राविधिक विवरण, परीक्षण मापदण्ड तथा होमोलोगेशन प्रमाणपत्रका आधारमा भइरहेको स्पष्ट पारेको हो। भारतबाट आयात हुने इभीहरूमा मान्यता प्राप्त निकायका प्रमाणपत्रका आधारमा आयात तथा भन्सार मूल्याङ्कन हुने गरेको नाडाले जनाएको छ।
त्यस्तै, चीनबाट आयात हुने सवारी साधनका हकमा उत्पादक कम्पनी वा आयातकर्ताले पेश गर्ने प्राविधिक विवरण तथा स्वघोषणाका आधारमा प्रक्रिया अघि बढिरहेको उल्लेख गरिएको छ।
नाडाले व्यवसायीहरूले विद्यमान कानुन, कर तथा भन्सार सम्बन्धी सबै व्यवस्था पालना गर्दै जिम्मेवारीपूर्वक व्यवसाय सञ्चालन गरिरहेको दाबी गर्दै प्रमाणबिना “कर छली” वा “अनियमितता” जस्ता आरोप लगाउनु उपयुक्त नहुने बताएको छ।
विज्ञप्तिमा एउटै मोडेलका सवारी साधन पनि विभिन्न बजारका आवश्यकताअनुसार फरक–फरक मोटर स्पेसिफिकेसन तथा सफ्टवेयर कन्फिगरेसनमा उत्पादन हुने भएकाले केवल वेबसाइट वा बाह्य विवरणका आधारमा निष्कर्ष निकाल्नु प्राविधिक रूपमा गलत हुने उल्लेख गरिएको हो।
नाडाले सरकारले मोटर क्षमताका आधारमा कर प्रणाली लागू गरे पनि हालसम्म स्पष्ट, एकीकृत र व्यवहारिक परीक्षण तथा प्रमाणीकरण मापदण्ड पूर्ण रूपमा कार्यान्वयन नभएको बताएको छ। साथै, अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्रलाई नेपालमा आधिकारिक रूपमा स्वीकार गर्ने कानुनी व्यवस्था आवश्यक रहेको सुझाव दिएको छ।
संस्थाले भविष्यमा यस्ता विवाद रोक्न नेपालमै आधुनिक परीक्षण तथा प्रमाणीकरण प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
नाडाले इभीको विस्तारले पेट्रोलियम इन्धनमा निर्भरता घटाउने, विदेशी मुद्रा बचत गर्ने तथा वायु प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान दिएको भन्दै यस क्षेत्रमा संलग्न व्यवसायी तथा लगानीकर्तालाई निरुत्साहित गर्नुको सट्टा प्रोत्साहन गर्नुपर्नेमा जोड दिएको छ।
साथै, सरकार र सम्बन्धित निकायसँग सहकार्य गर्दै दीर्घकालीन, पारदर्शी र प्राविधिक रूपमा सुदृढ समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता पनि जनाएको















प्रतिक्रिया