धनगढी । सुदूरपश्चिम प्रदेशमा गणतन्त्र दिवसको कुनै तयारी नै नभएको पाइएको छ । गणतन्त्र दिवस आउन तीन दिन मात्रै बाँकी रहँदा प्रदेश सरकारले हालसम्म त्यसको कुनै तयारी भने गरेको छैन ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार हालसम्म दिवसका विषयमा कुनै निर्देशन समेत प्राप्त भएको छैन ।
‘संघबाट पनि कुनै निर्देशन प्राप्त भएको छैन,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् सम्पर्क व्यक्ति जनक धामीले भने, ‘मुख्यमन्त्री कार्यालयबाट पनि कुनै निर्देशन प्राप्त भएको छैन ।’
विगतमा आन्तरिक मामिला मन्त्रालयको समन्वयमा गणतन्त्र दिवस मनाइने गरिएको थियो । तर यस पटक भने आन्तरिक मामिला मन्त्रालयले कुनै तयारी गरेको छैन । माथिल्लो निकायबाट आउने आदेशका आधारमा थप तयारी गर्न सकिने धामीको भनाई छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी जगदीश जोशीले पनि हालसम्म छलफल नभएको बताए । आज भोलिसम्म सो विषयमा छलफल हुनसक्ने जोशीले बताए ।
‘गणतन्त्र दिवस मनाउने तयारी र व्यवस्था पनि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्ने हो,’ जोशीले भने, ‘तर यस पटक त्यसतो खास्सै तयारी भएको जस्तो लागेको छैन, आज भोलिमा त्यसको निर्णय हुन सक्छ ।’
खासगरी प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट प्राप्त हुने निर्देश्नका आधारमा गणतन्त्र दिवस मनाउने तयारी अघि बढ्ने गरेको भए पनि यस पटक प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट हाल सम्म कुनै पनि निर्देशन प्राप्त नहुँदा अन्यौलता बढेको सूचना अधिकारी जोशीको भनाई छ ।








प्रतिक्रिया