२४ असार २०८३, बुधबार

महोत्तरीमा नदीमा डुबेर एकैदिन चार बालिकाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी । महोत्तरीमा नदीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज जिल्लाको मनरासिस्वा नगरपालिका–७ सरपल्लो गाउँको नदीमा तीन बालिका र गौशाला नगरपालिका–४ रजखोर गाउँमा एक बालिकाको डुबेर मृत्यु भएको हो । मनरासिस्वा नगरपालिका–७ सरपल्लोका वीरेन्द्र भण्डारीकी छोरी १२ वर्षीया स्नेहाकुमारी र छ वर्षीया शिवानीकुमारी तथा अजिज नदाफकी छोरी १२ वर्षीया अफसाना खातुनको डुबेर मृत्यु भएको हो ।

सरपल्लो गाउँकी तीनै जना बालिका आज दिउँसो अङ्कुशी र जंघा नदीको दोभानमा नुहाउन गएका थिए । नुहाउने क्रममा खुट्टा चिप्लेर नदीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार गौशाला नगरपालिका–४ रजखोर गाउँ बस्ने नरेश महतोकी छोरी दुई वर्षीया दीपिका कुमारीको घर नजिकै रहेको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक रमेश लामाले बताए ।

मृतक चारै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।