सोलुखुम्बु । सगरमाथा म्याराथनमा सहभागी हुन सोलुखुम्बु आएका एक अमेरिकी नागरिकलाई लेक लागेपछि प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङस्थित आमादब्लम होटलमा बसिरहेका अमेरिकी नागरिक अन्दाजी ४० वर्षीय अलेक्जेन्डर राइट (पासपोर्ट नं. A४७८५८०१७) बिहीबार दिउँसो अचानक बिरामी परेका थिए ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उनलाई उच्च हिमाली क्षेत्रमा हुने ‘लेक’ (अक्सिजनको कमी)को समस्या देखिएपछि प्रहरी चौकी खुम्जुङबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्रप्रसाद ढुङ्गानाको कमाण्डमा तीन सदस्यीय टोली खटिएको थियो । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उनलाई उद्धार गरी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित खुन्दे अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
हाल उनको अवस्था सामान्य रहेको तथा बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ ।
सगरमाथा क्षेत्र उच्च हिमाली भूगोलमा पर्ने भएकाले यहाँ आउने विदेशी पर्यटक तथा आरोहीमा लेक लाग्ने समस्या समयसमयमा देखिने गरेको छ ।








प्रतिक्रिया