१९ असार २०८३, शुक्रबार

महावीर पुन भन्छन्– बाँदर नियन्त्रण रकेट उडाउनभन्दा गाह्रो छ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालमा बाँदर नियन्त्रणको प्रविधि बनाउन रकेट उडाउनभन्दा पनि गाह्रो भएको बताएका छन् ।

शिक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पुनले बाँदर ज्यादै चलाख प्राणी भएकाले यसलाई धपाउने स्थायी प्रविधि विकास गर्न निकै कठिन रहेको र यसका लागि ठूलो अनुसन्धान आवश्यक रहेको औंल्याएका हुन् ।

आविष्कार केन्द्रले बाँदर धपाउने मेसिन (बन्दुक) बनाएर विभिन्न जिल्लामा परीक्षण गरे पनि केही समयपछि बाँदरले टेर्न छाडेको उनले बताए ।

‘रकेट बनाउन सजिलो छ किनभने यसको प्रविधि संसारमा उपलब्ध छ । तर बाँदर धपाउने प्रविधि छैन । विकसित देशमा बाँदरले दुःख दिएको छैन, त्यसैले उनीहरूले यसमा प्रविधि विकास गरेनन् । हाम्रो देशमा हामी आफैंले अनुसन्धान गर्नुपर्छ ।’

बाँदर नियन्त्रणको अनुसन्धानका लागि देशका पालिकाहरूलाई वार्षिक एक लाख रुपैयाँ मात्र छुट्याउन आग्रह गर्दा कसैले नमानेकोमा उनले गुनासो गरे ।

‘५ सय पालिकाले एक–एक लाख दिएको भए ५ करोड हुन्थ्यो, मज्जाले अध्ययन गर्न सकिन्थ्यो । तर एक लाख खर्च गर्न नसक्ने पालिकाका अध्यक्षहरू सिंहदरबारमा आएर बाँदरले दुःख दियो भनेर संसद थर्काउँछन्,’ उनले आक्रोश पोखे ।

आविष्कार केन्द्रले आफ्नै स्रोतबाट ५०–६० लाख रुपैयाँ खर्च गरेर अनुसन्धान गरे पनि थप स्रोत नहुँदा काम रोक्नुपरेको उनले स्पष्ट पारे । सार्वजनिक यातायातको कालो नम्बर प्लेट वितरणमा ठूलो सिन्डिकेट र भ्रष्टाचार भइरहेको पनि उनले बताए ।

एउटा ट्याक्सीको नम्बर प्लेट लिन १५ लाख रुपैयाँसम्म घुस खुवाउनुपर्ने अवस्था रहेको भन्दै उनले यस्तो दलालीमा संलग्नहरूको ‘बंगारा झार्नुपर्ने’ टिप्पणी गरे ।

‘पुरानो पार्टीका नेता र मन्त्रालयका कर्मचारीहरू दलालको पछि लागेर १५ लाखसम्म खाइरहेका छन्, यो अरबौंको चलखेल हो,’ उनले भने । आफूले हिजो मात्रै यो विषय उठाएको र आजैदेखि सरकारले कालो प्लेट दर्ता बन्द गरेको सूचना निकालेको भन्दै उनले यसमा गम्भीर छानबिन हुनुपर्ने माग गरे । आफूले आत्मकथा किताब बेचेर कमाएको १२–१३ करोड रुपैयाँले वीरगञ्ज कृषि औजार कारखाना चलाइरहेको भन्दै पुनले यसबाट जलेर कुरा काट्नेहरूलाई ‘महा फटाहा’ भने ।

‘मैले चोखो कमाएर कारखाना चलाइरहेको छु, त्यो देखेर भित्रभित्रै जलेर मलाई उडाउनेहरू ठहरै परून्,’ आक्रोशित हुँदै उनले भने ।

पुनले आफूलाई राजनीतिमा कुनै चासो नरहेको स्पष्ट पार्दै केवल समाज सुधार, देश विकास र प्रविधिका विषयमा मात्र आफ्नो ध्यान केन्द्रित रहेको बताए ।