काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी बैठकमा शुक्रबार पाँच जना उपाध्यक्षहरूले आ–आफ्ना धारणा र विचारहरू खुलेर राखेका छन् ।
उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा पार्टीको समग्र समीक्षा गर्नुका साथै निर्वाचनको समीक्षालाई दुई भागमा बाँडेर छलफल अगाडि बढाइएको छ । नेताहरूले लामो समय लिएर स्पष्ट रूपमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए ।

भट्टले भने, ‘सायद यो बैठक यसरी चलेको पहिलोचोटी होला, जहाँ नेताहरुले लामो समय लिएर आफ्ना खुलेर विचारहरू प्रस्तुत गर्नुभएको छ ।’ बैठकको बीचबीचमा पार्टी अध्यक्षले विषयवस्तु स्पष्ट पार्न आवश्यक सहजीकरण समेत गरेका थिए ।
आजको बैठकमा नेताहरूको कार्यविभाजनको विषयमा भने प्रवेश नभएको भट्टले जानकारी दिए । प्रस्तावित कार्यविभाजनमा केही संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘त्यो एजेन्डामै आउँदा हाम्रा कुराहरू राख्छौँ । प्रस्तावित कार्यविभाजनमा कसका के सुझाव छन्, आवश्यक पर्दा त्यसलाई संशोधन पनि गरेर जानुपर्ला ।’
सचिवालयको अर्को बैठक भोलि बिहान ११ः३० बजे अध्यक्षकै निवासमा पुनः बस्ने तय भएको छ । भट्टका अनुसार भोलिको बैठकमा उनीसहित बोल्न बाँकी १२ जना नेताहरूले आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया