रामेछाप । चार वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीस्थित स्वास्थ्य चौकीको भवन निर्माणकार्य अझै अधुरो छ । निर्माण व्यवसायी र सम्बन्धित कार्यालयको लापरबाहीका कारण भवन निर्माण कार्य अलपत्र मात्र परेको छैन, कामदारहरूले पाँच वर्षदेखि आफ्नो पारिश्रमिक समेत पाएका छैनन् ।
‘स्काइ विवश निर्माण’ नामक कम्पनीले ठेक्का लिएको भवन निर्माणमा खटिएका स्थानीयले १४ लाखभन्दा बढी ज्याला पाउन बाँकी रहेको स्थानीय कर्णबहादुर सुनुवारले बताए । उनका अनुसार, निर्माण व्यवसायीले फोन समेत नउठाएर सम्पर्कविहीन बनेका छन् ।

भवन निर्माणको जग राख्ने बेलादेखि नै काम गरेका स्थानीय प्रसाद सुनुवारले आफ्नो पीडा पोख्दै भने, ‘भवनको जग राख्ने बेला काम गरेर चार वर्ष काठमाडौं बसेर फर्किएँ, तर अझै न पैसा पाएको छु, न भवन निर्माणको काम नै सकिएको छ ।’ उनी पुरानो रकम उठ्ने आशामा फेरि ६ महिनादेखि सोही भवन निर्माणमा खटिएका छन्, तर पैसा पाउने कुनै निश्चितता छैन । उनले थपे, ‘गाउँकै काम हो, खाली बस्नुभन्दा पैसा पाइन्छ कि भन्ने आशामा फेरि काम गर्न लागेको छु ।’
त्यस्तै, अर्का मजदुर केशव सुनुवारले पनि पटक-पटक पैसा पठाइदिने आश्वासन दिएर आफूहरूलाई काममा फसाइरहेको गुनासो गरे । मजदुरहरू बक्यौता रकम पाइने लोभमा काम गर्न बाध्य छन् । स्थानीय पवित्र कार्कीले निर्माण व्यवसायीको बदमासी र कार्यालयको फितलो अनुगमनका कारण काम अलपत्र परेको बताए । उनले भने, ‘समयमा काम नगर्ने व्यवसायी र बिल भुक्तानीमा ढिलासुस्ती गर्ने कार्यालय दुवै दोषी छन् ।’
यसैबीच, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले ठेक्का लिएर लामो समयसम्म काम नगर्ने तथा मजदुरलाई ठग्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले यस विषयमा प्रदेश स्वास्थ्य मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए ।

रामेछाप जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएकासहित १९ वटा स्वास्थ्य संस्थाको भवन निर्माणको जिम्मा लिएको ‘स्काइ विवश निर्माण’ कम्पनीले काम अलपत्र पार्दा नागरिकलाई स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भइरहेको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट निर्माण सुरु गरिएका यी कुनै पनि भवन निर्माण सम्पन्न भएका छैनन् ।
सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापका अनुसार सो कम्पनीले १५ महिनामा काम सक्नेगरी २०७८ वैशाख ८ गतेबाट विभिन्न १९ वटा स्वास्थ्य संस्थाको भवन निर्माण थालेको थियो । पटक-पटक म्याद थप गर्दा पनि कम्पनीले काम सम्पन्न गरेको छैन । सो कम्पनीले ११ वटा स्वास्थ्य चौकी १९ करोड ३७ लाख ८७ हजार (भ्याट बाहेक) र ८ वटा स्वास्थ्य चौकी २० करोड ५२ लाख ४५ हजार रुपैयाँको लागतमा निर्माण गर्ने सम्झौता गरेको थियो ।








प्रतिक्रिया