–गोविन्द्रराज तिमिल्सेना
बाजुरा । दिउँसोको करिब १२ बजेको समय, टन्टलापुर घाममा गाउँको एक कुनाबाट ‘ठक्..ठक्..ठक्’ आवाज लयबद्ध रूपमा कानमा गुञ्जिन्छ । त्यो आवाज परम्परागत तान चलिरहेको संकेत हो । त्यही परम्परागत तानसँग जोडिएको छ स्थानीय महिलाको दैनिकी ।
चर्को घाममा घरको आँगनमा हाते तान अगाडि बसेर मसिना ऊनका रेखालाई कपडामा रूपान्तरण गर्ने महिला हुन्, बाजुराको बडीमालिका नगरपालिका अंगाउपानीकी स्थानीय विउमति गुरुङ । गुरुङको श्रम, सीप, संघर्ष र दैनिकीको कथा निकै रोचक र लोभलाग्दो छ ।
पसिना पुछ्दै टन्टलापुर घाममा गुरुङ परम्परागत तानको संसारमा व्यस्त देखिन्छिन् । उनको त्यो चलायमान हातको गति घामपानी नभनेर काममै व्यस्त छ । वास्तवमा तान बुन्ने काम केवल जीविकोपार्जन मात्र नभई परम्परागत सीप र प्रविधिको संरक्षण, सांस्कृतिक पहिचान र जीवन संघर्षको अभिन्न हिस्सा बनेको पाइन्छ ।

उमेरले ५० कटेकी गुरुङको तान बुन्ने सीप, संघर्ष र जोस–जाँगर हेर्न लायक छ । प्रविधिको विकासले यस्ता पेसा र सीपको संरक्षणमा चुनौती थपिँदै जाँदा गुरुङले भने पुख्र्यौली पेसा र परम्परालाई छाडेकी छैनन् । तानमा बसेर कपडा र आफ्नै संघर्षको कथा बुन्नु उनको दैनिकी जस्तै छ ।
सहरको जस्तो कोलाहल नभएको शान्त वातावरणमा केवल धागोको सुस्केरा र परिश्रमको ताल मात्र सुन्न सकिन्छ । तान बुन्ने गुरुङका हात थाक्दैनन् र हातलाई थाक्ने छुट समेत छैन । उनले तानमा बुनेका कपडा केवल प्रयोगका लागि मात्र नभई, त्यसभित्र उनको परिश्रम, सीप र संघर्ष समेत लुकेको हुन्छ ।
तान बुन्दै गुरुङ भन्छिन्, ‘पछिल्लो समय सबैले तानबाट कपडा बनाउन छाडिसके । आफूले भने परम्परागत प्रविधि र सीप संरक्षण गर्नका लागि समेत तान बुन्ने गर्छु । पुर्खौँदेखि यो पेसा गर्दै आएका छौँ । तानबाट बनाएका कपडा जाडोको समयमा काम लाग्छन् र न्यानो हुन्छन् ।’
‘पहिले–पहिले गाउँघरतिर तान बुन्ने साधन मात्रै नभई सबैको घर चलाउने आधार थियो । महिलाहरू घरधन्दा सकेर तानमा बस्ने गर्थे,’ गुरुङले थपिन्, ‘अहिले यसलाई प्राथमिकता दिइँदैन । त्यसबेला लिउ, फेरुवा, काम्ला, राडीपाखी, गलैँचा र स्थानीय कपडा बुनिन्थ्यो । यिनै धागोहरूमा आफ्ना दुःख, सीप र जिम्मेवारी गाँस्ने काम हुन्थ्यो ।’

बजारमा आधुनिक कपडाको महत्त्व बढ्दै जाँदा तानबाट बनेका कपडा कम मात्रामा प्रयोग गर्न थालिएको उनको बुझाइ छ । तर, आफूले परम्परा, संस्कृति र पहिचानलाई आत्मसात् गरी पेसा भने नछाडेको बताइन् । गुरुङले बुनेका राडीपाखी वा अन्य कपडाहरू दरिलो र टिकाउ समेत हुने गरेका छन् । ‘तान बुन्ने काममा समय र धैर्य चाहिन्छ । तानमा बसेर धागो मिलाउने, बुन्ने र कपडा तयार पार्ने काम सजिलो छैन । समयको सदुपयोग र परम्परागत सीपको संरक्षण गर्न तानमा बसेर कपडा बुन्ने काम समयअनुसार गरिरहन्छु,’ उनले भनिन् ।
‘आधुनिकताले मौलिक र परम्परागत पेसा, व्यवसाय संकटमा परे । विस्तारै मानिसले भेडापालन व्यवसाय छाडे, जसले ऊन उत्पादनमा गिरावट आयो । भेडापालन गर्ने र हातमा सीप भएकाले चासो नदिँदा गाउँमा राडीपाखी बुन्ने प्रचलन विस्तारै लोप हुँदै गयो ।’
गुरुङका लागि तान बुनाइ केवल काम नभई परम्परा जोगाउने माध्यम बनेको छ । आफ्नो सीप र संस्कृतिलाई उनले धागोमा बाँधेकी छिन् । आधुनिक प्रविधिका कारण पछिल्लो समय राडीपाखी व्यवसाय दुर्लभ बन्दै गएको छ । बाजुराका नौवटै स्थानीय तहमा तान बुन्ने प्रचलन हराउँदै गएको हो । चरनको अभावमा भेडा पाल्नेहरू कम हुँदै गएपछि राडीपाखी पेसा–व्यवसाय प्रभावित बनेको स्थानीय कला थापा भोटेले बताइन् ।
भेडाको ऊनबाट बनेका राडी, कम्मल, पाखी, फेरुवाको मूल्य तीन हजारदेखि आठ हजारसम्म पर्ने गर्छ । भेडाबाट ऊन निकालेर बुनाइ गर्दासम्म धेरै दुःख हुने हुँदा पनि यो पेसा दुर्लभ बन्दै गएको छ ।








प्रतिक्रिया