२ कार्तिक २०८३, सोमबार

कफी पोखिएर घाइते भएकी पीडितलाई साढे २ करोड बढी क्षतिपूर्ति उपलब्ध गराउन आदेश

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विमान यात्राका क्रममा तातो कफीका कारण गम्भीर रूपमा घाइते भएकी एक नेपाली महिलाको पक्षमा उपभोक्ता अदालतले फैसला सुनाएको छ। अदालतले कतार एयरवेजलाई पीडितलाई करिब साढे २ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो।

उपभोक्ता अदालतका न्यायाधीशहरूको संयुक्त इजलासले अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी मोन्ट्रियल कन्भेन्सन र उपभोक्ता संरक्षण ऐनका आधारमा क्षतिपूर्ति निर्धारण गरेको जनाएको छ। अदालतको आदेशअनुसार कुल २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ तिर्नुपर्ने भएको छ, जसमा अधिकांश रकम अन्तर्राष्ट्रिय कानुनी व्यवस्था अनुसार र थप २० लाख रुपैयाँ उपभोक्ता अधिकार हननबापत समावेश गरिएको छ।

ललितपुरकी प्रिती थापाले आफूमाथि विमानभित्र चालक दलका सदस्यको लापरबाहीका कारण तातो कफी खसेर गम्भीर जलन भएको दाबी गर्दै क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेकी थिइन्। उनले सुरुआतमै कम्पनीसँग आन्तरिक रूपमा समाधान खोजे पनि सहमति नभएपछि अदालत पुगेकी हुन्।

घटना सन् २०२३ जुलाईमा बोस्टनबाट दोहा हुँदै काठमाडौं फर्किने क्रममा भएको बताइएको छ। उडानकै बेला दिइएको तातो कफी अचानक शरीरमा खस्दा उनको पेट, तिघ्रा र अन्य संवेदनशील भागमा गहिरो जलन भएको थियो।

विमान दोहामा अवतरण गरेपछि उनलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलस्थित आकस्मिक उपचार केन्द्रमा लगिएको थियो। त्यहाँ स्वास्थ्य परीक्षणका क्रममा दोस्रो तहको जलन भएको पुष्टि भएको थियो। पछि नेपाल फर्किएपछि उनी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएकी थिइन्।

अदालतको फैसलापछि अब कतार एयरवेजले तोकिएको क्षतिपूर्ति रकम भुक्तानी गर्नुपर्नेछ। यदि कम्पनी निर्णयसँग असन्तुष्ट भए तोकिएको कानुनी समयभित्र माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था पनि रहेको छ।