१९ असार २०८३, शुक्रबार

एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रण नगरे सांसद बैठक चल्न दिँदैनौँ : सांसद राई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

सांसदहरुले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाई हुने बताएका हुन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए । उनले बदमासी गर्ने नागरिकलाई नियन्त्रणमा लिने सरकारले किन जनतालाई सास्ती दिने बाँदरलाई नियन्त्रण गर्न नचाहेको हो ? भनि प्रश्न समेत गरे ।

सांसद राईले भने, ‘यदि कोही मानिसले बदमासी गर्‍यो भने उसलाई पुलिसले बाँधेर लैजान्छ । उसलाई जेलमा थुनिन्छ । आज बाँदरले सयौं मानिसहरुलाई बसाँई उठाईसक्यो । सयौं मानिसहरुले दाल, भात, तरकारी खान पाएनन । यसबारेमा सरकार किन सिरियस हुँदैन ? म भन्न चाहन्छु– यो सरकारले गर्ने थुप्रै कामहरुमा सबैभन्दा पहिला जनताको जीवनमा ठूलो समस्या भएको बाँदर छ । यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने जनजीवनको परिवर्तनमा ठूलो समस्या हुन्छ । तसर्थ तत्काल रुपमा यो बाँदरको समस्या समाधान गर्नका निम्ति यो सरकारलाई म ध्यानाकर्षण गराउन चाहन्छु । अब सात दिन भित्रमा बाँदरको समस्या समाधान भएन भने यसलाई कसरी समाधान गर्ने ? चाहे कानूनी होस, चाहे कुन माध्यमबाट भए पनि सरकारले नियन्त्रण गरेन भने सबै सांसदहरुले यस बारेमा कुरा चलाउनु हुनेछ, संसद चल्न गाह्रो हुनेछ ।’

सांसद राईले बाँदरको आतंकबाट नागरिकलाई छुटकारा दिन सरकारले जुनसुकै कदम चाल्न पनि पछि पर्न नहुने बताए ।