१ श्रावण २०८३, शुक्रबार

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले यस अवधिमा कार्यालयलाई दुई खर्ब २३ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको ८९ दशमलव ३५ प्रतिशत राजस्व सङ्कलन गरिएको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताए । उनका अनुसार यहाँ राजस्वको मुख्य स्रोतका रूपमा पेट्रोलियम पदार्थको आयात, सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात रहेका छन् ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । चालु आवको दुई महिना अझै बाँकी रहेकाले थप राजस्व सङ्कलन हुने कार्यालयको अपेक्षा छ ।

कार्यालयले चालु आवको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ, भदौमा २० अर्ब ७३ करोड रुपैयाँ, असोजमा १९ अर्ब नौ करोड रुपैयाँ, कात्तिकमा १७ अर्ब ३३ करोड रुपैयाँ, मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

यसैगरी, पुसमा २० अर्ब २० करोड रुपैयाँ, माघमा १८ अर्ब ९२ करोड रुपैयाँ, फागुनमा १९ अर्ब ३४ करोड रुपैयाँ र चैतमा २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यस्तै, वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी विष्टले बताए ।