काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् निर्माण व्यवसायी विक्रम पाण्डेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले आज चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला अदालत, काठमाडौँका न्यायधीश चुरामन खड्काको एकल इजलासले पूर्व मन्त्रीसमेत रहेका पाण्डेसँग धरौटी माग गरेको हो। सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको आरोपमा उनी वैशाख ११ गते पक्राउ परेका थिए । उनीसँगै यस मुद्दामा २२ जनालाई प्रतिवादी बनाएको छ। जसमध्ये अदालतले १२ जना पक्राउ परेकामा पाण्डेसहित ११ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अदालतले नुवाकोटका प्रकाश ढुंगानसँग चार लाख, तनहुँका सञ्जय भट्टसँग १० लाख, सुनसरीका जीवनकुमार दाससँग पाँच लाख र काठमाडौँका अमृत बोहोरासँग चार लाख धरौटी माग गरेको छ । यसैगरी, मकवानपुरका सागर कटुवाललाई पाँच लाख, दोलखाका अनिल श्रेष्ठलाई चार लाख, काठमाडौँका भाष्करराज अर्याललाई १० लाख, धादिङका टंककुमार श्रेष्ठलाई चार लाख, सिराहाका स्वदेश पोखरेललाई चार लाख र काठमाडौँका ऋषिकेश गौलीलाई चार लाख रुपैयाँ धरौटी छोड्न आदेश भएको छ।
यस मुद्दामा पक्राउ परेका धनकुटाका दिवाकर देउजालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।








प्रतिक्रिया