२५ जेष्ठ २०८३, सोमबार

खुम्बु आइसफलमा सेराक भत्किँदा सगरमाथा आरोहण क्रममा दुई जना घाइते

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा खुम्बु आइसफल क्षेत्रमा मंगलबार बिहान सेराक भत्किदा एक भारतीय पर्वतारोही र एक शेर्पा हिमाल गाइड घाइते भएका छन्।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेका अनुसार बिहान करिब ५ः४५ बजे क्याम्प–२ तर्फ जाँदै गरेका आरोही र गाइडहरूको समूहमाथि ठूलो बरफको संरचना ९सेराक० फुटेर झरेको थियो। करिब २० मिटर तलसम्म खसेको बरफले बाटोमा रहेका सदस्यहरूलाई असर पुर्याएको हो।

घटनामा संखुवासभाका ४४ वर्षीय पर्वतीय गाइड पेम्बा तेन्डुक शेर्पा र सेभेन समिट ट्रेक्ससँग आबद्ध ४० वर्षीय भारतीय पर्वतारोही निमिश कुमार सिंह घाइते भएका छन्।

पायोनियर एडभेन्चर र समिट फोर्स एक्सपिडिसनका गाइडहरूले तत्काल उद्धार गरी आधार शिविरमा जानकारी गराएका थिए। त्यसपछि हेलिकप्टरमार्फत उद्धार समन्वय गरेको थियो। लुक्लाबाट उडेको हेलिकप्टर बिहान ६ः३० बजे घटनास्थल पुगेको थियो।

घाइते दुवै जनालाई काठमाडौंस्थित अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ। पर्यटन विभागले उनीहरूको अवस्था हाल ज्यान जोखिममा नरहेको जनाएको छ।