काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रलाई केन्द्रमा राखेर व्यापक सुधार आवश्यक रहेको बताएका छन्।
महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन मन्तव्यमा अध्यक्ष ढकालले महासंघको ६० वर्षे यात्रालाई मुलुकको आर्थिक इतिहाससँग गाँसिएको “संघर्ष, संकल्प र सहकार्यको यात्रा”का रूपमा चित्रण गरेका हुन्। उनले निजी क्षेत्रले उद्योग, व्यापार र लगानी प्रवर्द्धन गर्दै राष्ट्रिय समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे।
ढकालले हाल बनेको स्थायी सरकारलाई आर्थिक सुधारको अवसरका रूपमा लिनुपर्ने बताउँदै निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण रणनीति कार्यान्वयनमा आएकोमा स्वागत गरेका छन् । उक्त रणनीतिले व्यवसायीलाई भौतिक मात्र नभई नीतिगत सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गरे।
अध्यक्ष ढकालले लगानीमैत्री वातावरण अभाव, अत्यधिक नियमन र नीतिगत अस्थिरतालाई आर्थिक वृद्धिका प्रमुख अवरोधका रूपमा औंल्याउँदै सुधारको नयाँ चरण सुरु गर्नुपर्नेमा जोड दिए। “मुलुकमा ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिएको छ, त्यसैले निजी क्षेत्रको संरक्षण र सशक्तीकरण अपरिहार्य छ,” उनले भने।
उनका अनुसार नेपालसँग युवा जनशक्ति, छिमेकी ठूला बजार र अन्तर्राष्ट्रिय व्यापारिक अवसर जस्ता महत्वपूर्ण सम्भावनाहरू रहेका छन्। तर पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा ठूलो संख्यामा युवा विदेशिन बाध्य भएकोमा उनले चिन्ता व्यक्त गरे।
स्वदेशी पुँजी परिचालनमार्फत ठूला आयोजना अघि बढाउन महासंघले १० अर्ब रुपैयाँ चुक्ता पुँजीको लगानी कम्पनी स्थापना गरेको जानकारी दिँदै उनले यसले अर्थतन्त्रमा नयाँ ऊर्जा ल्याउने विश्वास व्यक्त गरेका छन् । विदेशी लगानी आकर्षित गर्न सुशासन, पारदर्शिता र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले व्यवसाय दर्ता लगायतका सेवा डिजिटल माध्यमबाट सहज बनाउन सरकारलाई आग्रह गरेका थिए।
अध्यक्ष ढकालले निजी क्षेत्रलाई सरकारमुखी सोचबाट बाहिर निस्केर आर्थिक सुधारको नेतृत्व लिन आह्वान गर्दै स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।
भूकम्प र कोभिड–१९ महामारी जस्ता संकट पार गर्दै निजी क्षेत्र थप सशक्त बन्दै गएको उल्लेख गर्दै उनले सकारात्मक सोच, नवप्रवर्तन र सहकार्यका माध्यमबाट समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे।













प्रतिक्रिया