काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको घटनाप्रति सरकारको मौनताले चौतर्फी आलोचना बढेको छ । दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।
रुकुमपूर्वबाट रोल्पाको थबाङ गाउँपालिका–१, जलजलातर्फ जाँदै गरेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दुर्घटनामा परेको थियो । करिब ५ सय मिटर तल भीरमा खसेको जिपमा सवार २० जनाको ज्यान गएको थियो ।

दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयबासी उद्धार कार्यमा सक्रिय भए पनि दुर्गम भौगोलिक अवस्थाका कारण शव निकाल्न निकै कठिनाइ भएको थियो । सुरक्षाकर्मीले ठूलो मेहनतपछि भीरबाट शव निकालेका थिए ।
यता, ठूलो मानवीय क्षति भएको दुर्घटनाको तीन दिन बितिसक्दा पनि प्रधानमन्त्री बालेन साह र सरकारको तर्फबाट औपचारिक शोक वक्तव्य जारी नभएको भन्दै आलोचना भइरहेको छ । सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा सरकारमाथि प्रश्न उठ्न थालेको छ ।
दुर्घटनाको भोलिपल्ट नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

ओलीले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।
यसैगरी, नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि घटनाप्रति दुःख व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेका थिए । तर हरेक घटनामा अपडेट रहने कांग्रेस सभापति गगन थापा र उनको पार्टीले भने हालसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन ।
यसबीच, सत्ताको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने घटना भएको तीन दिनपछि आज (शनिबार) विज्ञप्ति जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । रास्वपाले यस्ता दुर्घटना दोहोरिन नदिन नीतिगत सुधार, कडा कार्यान्वयन तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने उल्लेख गरेको छ ।









प्रतिक्रिया