–अन्जनी कुमार अधिकारी
उदयपुर । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको समयलाई उपयोगी र उत्पादनमूलक बनाउने उद्देश्यले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ ले निःशुल्क एक महिने सूचना प्रविधि (कम्प्युटर) तालिम सञ्चालन गरेको छ । वडाले आफ्नै बजेटबाट एक लाख रुपैयाँ विनियोजन गरी सञ्चालन गरेको तालिममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ ।
वडाध्यक्ष लुङ्गाराज राईका अनुसार, आजको युग सूचना प्रविधिको युग भएकाले विद्यार्थीहरूलाई प्रारम्भिक चरणमै कम्प्युटर शिक्षासँग जोड्नु आवश्यक ठानिएको हो । “विद्यार्थीहरूलाई भविष्यमा रोजगारीका अवसरसँग जोड्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्यले तालिम सञ्चालन गरेका हौँ,” अध्यक्ष राईले भने । उनका अनुसार, यस तालिमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउन र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
मुख्यतः वडा नम्बर ४ भित्रका एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर सुरु गरिएको यो तालिममा अहिले वडा नम्बर २ र ३ का विद्यार्थीहरूको समेत सहभागिता रहेको छ । प्रशिक्षक प्रशान्त तोलाङ्गीका अनुसार, हाल करिब ५० जना विद्यार्थी तालिममा सहभागी छन् । उनीहरूलाई चार वटा सिफ्टमा विभाजन गरेर नियमित प्रशिक्षण दिइँदै आएको छ ।
तालिममा कम्प्युटरको आधारभूत ज्ञान, टाइपिङ, एमएस अफिस प्याकेज (वर्ड, एक्सेल, पावरपोइन्ट) लगायतका विषयहरू समेटिएका छन् । यसले विद्यार्थीहरूलाई डिजिटल साक्षरता बढाउन र भविष्यका लागि आवश्यक आधार तयार गर्न सहयोग पर्याउने विश्वास लिइएको छ । सहभागी विद्यार्थी वर्षा राईले पनि यस्तो अवसरले आफूहरूलाई नयाँ सीप सिक्ने मौका मिलेको भन्दै खुसी व्यक्त गरिन् ।
हाल यो तालिम वडाकै लगानीमा सञ्चालन भइरहेको छ । वडा नम्बर ४ ले नारद आदर्श माध्यमिक विद्यालयको कम्प्युटर ल्याबमा रहेका उपकरणहरू मर्मत गरी पुनः सञ्चालनमा ल्याएर तालिम सञ्चालन गरेको हो । यसले सीमित स्रोतसाधनका बाबजुद स्थानीय तहले शिक्षा र सीप विकासमा देखाएको सक्रियता समेत झल्काएको छ ।
यसैबीच, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आगामी दिनमा नगरभित्रका सम्पूर्ण विद्यार्थीका लागि डिप्लोमा तहसम्मकै कम्प्युटर शिक्षा निःशुल्क उपलब्ध गराउने योजना नगरले लिएको जानकारी दिएका छन् । उनका अनुसार, हाल प्रशिक्षण दिँदै आएका प्रशिक्षकलाई नै करार सम्झौता गरी दीर्घकालीन रूपमा डिप्लोमा तह सम्मको कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
स्थानीय तहले विद्यार्थीहरूलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरू अघि बढाउनु सकारात्मक कदमका रूपमा हेरिएको अभिभावकहरुले बताएका छन् । विशेषगरी एसईई दिएर बसेको खाली समयलाई सीपमूलक शिक्षामा लगानी गर्ने यो प्रयासले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास लिइएको छ ।








प्रतिक्रिया