धनगढी । सुदूरपश्चिम प्रदेशमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई समावेशी र प्रभावकारी बनाउन प्रदेशस्तरीय समन्वय सञ्जाल गठन गरिएको छ । ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम–नेपाल), डिपिनेट, युएनडिपी, युएन ओमन र एचआई संस्थाको सहकार्यमा सञ्चालित कार्यक्रमअन्तर्गत लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाई मूलप्रवाहीकरण गर्ने उद्देश्यका साथ सञ्जाल गठन गरिएको हो ।
डिडब्लुआरएफका इन्द्रा दानपालीको संयोजकत्वमा ११ सदस्यीय सञ्जाल गठन गरिएको हो । सहसंयोजकमा एनएफडिएनका नरदीप धामी रहेका छन् । सञ्जालका सदस्यहरुमा सुदूरपश्चिम समाजका धनबहादुर चौधरी, केएफडब्लूडीएफकी सीमा चौधरी, डब्लुएचआरकी विमला देवल, फेडोकी सविना सुनार, फाया नेपालकी गोमा आचार्य, सिडिसी डोटीका एकराज बडू, टिपिओ नेपालकी कमला बुढाथोकी, एमपिडिएसका राजेन्द्र रैका तथा एफएनसिसिआईकी कृष्णाकुमारी विष्ट रहेका छन् ।
सञ्जालले विपद् पूर्वतयारीदेखि पुनर्लाभसम्मका सबै चरणमा समावेशी दृष्टिकोण लागू गर्दै जोखिमयुक्त समूहको संरक्षण र सशक्तीकरणमा काम गर्ने लक्ष्य राखेको छ । साथै, सरकारी निकाय, विकास साझेदार र समुदायसँग सहकार्य गरी विपद् व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने बताइएको छ ।
ग्रामीणमुखी युवा अभियान नेपालका सुदूरपश्चिम डिआरआर अफिसर मणिराज पाण्डेयका अनुसार सञ्जालले सरकारी निकाय, मानवीय सहायता क्षेत्रका सरोकारवाला, विकास साझेदार तथा समुदायसँग सहकार्य गर्दै विपद् जोखिम न्यूनीकरणमा सक्रिय भूमिका निर्वाह गर्नेछ। साथै, विपद्को समयमा जोखिमयुक्त समूहहरूको संरक्षण र समावेशीकरण सुनिश्चित गर्न पैरवी समेत गर्ने उनको भनाइ छ ।
संस्थाका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सञ्जालले मानवअधिकारमा आधारित दृष्टिकोण, कोही पनि पछाडि नपरुन् भन्ने सिद्धान्त, सहभागिता, पारदर्शिता र जवाफदेहितालाई आत्मसात गर्दै ‘कुनै हानी नपुगाओस्’ भन्ने मूल मान्यतासहित काम गर्ने बताए ।
कार्यक्रममा डिपिनेटका उपमहासचिव हर्षमान महर्जनले प्रदेशस्तरीय सञ्जालले सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्दै विपद् न्यूनीकरणमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया