३१ असार २०८३, बुधबार

शोभा अधिकारीको लघुकथाकृति ‘आमाको आँखा’ लोकार्पण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लघुकथाकार शोभा अधिकारीको नवीनतम् लघुकथाकृति ‘आमाको आँखा’ शनिबार काठमाडौंस्थित पद्मकन्या क्याम्पसमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ।

कार्यक्रममा बोल्दै लेखिका अधिकारीले साहित्यलाई ‘दिव्य बगैंचा’को संज्ञा दिँदै साहित्यभित्र जति गहिरिए पनि त्यति नै आनन्द, सुगन्ध र जीवन बाँच्नुको अर्थ फेला पर्ने बताइन्। उनले साहित्य समाजको दर्पण तथा मानवीय संवेदनाको प्रतिबिम्ब भएको उल्लेख गरिन्।

अधिकारीले आफ्ना सपना, कल्पना, भोगाइ र समाजमा देखिएका अन्याय–अत्याचारले आफूलाई निरन्तर लेख्न प्रेरित गरेको बताइन्।

‘हरेक बिहानीले मलाई उठ् शोभा, लेख भनेर घच्घचाइरहन्थ्यो । देखेका कुरा, भोगेका कुरा, सपनाहरू र अन्यायलाई शब्दमा उतार भन्ने प्रेरणाबाटै ‘आमाको आँखा’ जन्मिएको हो,’ उनले भनिन् ।

आजको व्यस्त समयलाई मध्यनजर गर्दै छोटो तर प्रभावशाली विधाका रूपमा लघुकथा रोजेर कृति तयार पारेको पनि उनले स्पष्ट पारिन् ।

समारोहमा नाट्यकार अशेष मल्लले हरेक मानिस आफैंमा कथाकार भएको उल्लेख गर्दै कथा भन्ने कला भाव अभिव्यक्तिको माध्यम भएको बताए ।

‘हामी सबैसँग कथा छ, त्यसलाई कसरी भन्ने भन्ने मात्र फरक हो। कला भनेको हाम्रो भावको प्रकट हो, अरु केही होइन,’ उनले भने।

उनले संगीतकारको भाव संगीत बन्ने, चित्रकारको भाव रंगमार्फत क्यानभासमा उतारिने र साहित्यकारको भाव कविता वा कथाका रूपमा प्रकट हुने भन्दै सबै सिर्जनाको मूल स्रोत ‘भाव’ नै भएको धारणा राखे।

‘हामी सबैसँग भाव छ त्यो भावको न रुप छ न रंग छ न भाषा छ। संगितकारको भाव बाहिर आएपछि संगित लय हुन्छ । चित्रकारको भावले रंगहरु भेटेपछि क्यानभ्यासमा चित्र बनाइदिन्छ । साहित्यकारको भाव बाहिर आएपछि कविता, कथा बनी आउँछ । स्रोत भनेको त्यही भाव हो,’ उनले भने ।